पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन : सहसंयोजक नेपाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भनेर मनोगत ढंगले आरोप लगाएर मात्रै नहुने बताए । एउटा भाष्य के छ भने, यी पुराना पार्टीहरूले केही पनि गरेनन्, यी पुराना नेताहरूले केही पनि गरेनन्, देशमा केही पनि भएन, उनले भने, त्यो भाष्य कति सही हो कति गलत हो ? यो मनोगत ढंगले आरोप लगाएर हुँदैन ।
तथ्यगत रूपमा त्यसलाई पुष्टि गर्नुपर्ने हुन्छ । तथ्यले पुष्टि भए केही गर्न नसकेको स्वीकार गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । तथ्य र प्रमाणले पुष्टि गर्छ भने त्यसलाई स्वीकार गर्न तयार हुनुपर्छ । तथ्यले त्यसलाई खण्डन गर्छ भने त्यसलाई अस्वीकार गर्न पनि तयार हुनुपर्छ, उनले भने । उनले विगतमा भएका कामको चर्चा नगर्ने र उपलब्धिको जस नदिई अपजस मात्रै पुराना दलमाथि थोपर्ने प्रवृत्ति रहेको आरोप लगाए । जोखिमपूर्ण कामको सुरुआत र देशका समस्या सम्बोधन गर्न भएका प्रयासको समेत उचित चर्चा नभएको उनको भनाइ छ । पुराना राजनितिक पार्टीहरूले विगतका गल्ती कमजोरीहरू आत्मसमीक्षा गर्दै अगाडि बढ्न आवश्यक रहेको पनि उनको भनाइ छ ।

















