अर्थमन्त्री डा.वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

काठमाण्डौं । नेपाल–भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका हुन्। भारतविरोधी राष्ट्रवादको युग सकिएको भन्ने वाग्लेको अभिव्यक्तिले राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उनले बताएका छन् नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन, थापाले लेखेका छन्, विदेशी मञ्चमा पुगेर भारतविरोधी राष्ट्रवादको युग सकियो भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ। सानो समूहका केही अपवादमूलक धारणालाई लिएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित देख्नु डा. वाग्लेको पूर्वाग्राही चस्माको उपज भएको पनि थापाले लेखेका छन्। नेपालको राष्ट्रियता आफ्नो देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित भएको भन्दै थापाले भनेका छन्, हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौं। तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादती विरूद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो। राष्ट्रहितमा उठ्ने यी आवाजहरू के अब असान्दर्भिक भइसकेका हुन् भन्दै थापाले डा। वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उनले अघि सारेको आत्मघाती मुनरो डक्ट्रिन कै उपज त होइन भनेर प्रश्न समेत गरेका छन्। उनले थप भनेका छन्, जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जबाफ दिनैपर्छ। के सरकारको धारणा यही हो ? भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित एनडिटिभी वर्ल्ड समिट २०२६ मा बोल्दै प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको बताएका थिए।

एनडिटिभीका अनुसार शुक्रबार नेपाल–भारत सम्बन्धबारे आयोजित विशेष सत्रमा वाग्लेले दुई देशको सम्बन्धमा बेलाबेला समस्या देखिए पनि भौगोलिक र सामाजिक निकटताले गहिरोसँग जोडेको उल्लेख गरेका थिए। उनले प्रधानमन्त्री साहले चाँडै भारत भ्रमण गर्ने पनि बताए। वाग्ले सहभागी सम्मेलन भारतीय सञ्चारमाध्यम एनडिटिभीले बिहीबार र शुक्रबार आयोजना गरेको थियो। वाग्लेले शुक्रबार ‘Proximity to Prosperity: The India-Nepal Opportunity’ शीर्षकको सत्रमा बोले। उक्त सत्र नेपाल–भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा कसरी बदल्ने भन्ने विषयमा केन्द्रित थियो। बिहीबार वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकर मुख्य वक्ता रहेको सत्रमा बदलिँदो अन्तर्राष्ट्रिय सहकार्यबारे प्रश्न राखेका थिए। उनले परम्परागत बहुपक्षीय संस्थाको सट्टा समान स्वार्थ भएका देशका साना र लचिला समूहहरूमार्फत सहकार्य गर्ने प्रवृत्ति बढेको हो भन्ने प्रश्न गरेका थिए। एनडिटिभीको यो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्बोधन गरेका थिए। उक्त अवसरमा मोदी र वाग्लेबीच भेट भएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *