साइबर सुरक्षामा उत्कृष्ट देखिए नबिल, प्राइम र माछापुच्छ्रे बैंक
काठमाडौं । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका बैंकका अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । सेवा पुनः सञ्चालन गर्ने वाणिज्य बैंकहरुमा नबिल, प्राइम कमर्सियल र माछापुच्छ्रे बैंक रहेका छन् । पीएचपीको साइबर जोखिम भन्दै सबै वाणिज्य र विकास बैंकहरुले अनलाइन सेवा बन्द भएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका थिए । विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकले पनि सेवा सुरु भएको जानकारी गराएका हुन् । वेबसाइट तथा वेबमा आधारित प्रणालीमा सम्भावित साइबर आक्रमणको जोखिम देखिएपछि बैंकहरूले ग्राहकको विवरण र डिजिटल प्रणालीको सुरक्षा सुनिश्चित गर्न केही सेवा अस्थायी रूपमा बन्द गरेका थिए । आवश्यक प्राविधिक सुधार तथा सुरक्षा प्रणाली अद्यावधिकपछि केही बैंकहरूले सेवा सञ्चालनमा ल्याएका हुन् । पीएचपी वेबसाइट तथा वेबमा आधारित प्रणाली निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो । यसमा देखिएका सुरक्षा कमजोरीको दुरुपयोगबाट अनधिकृत पहुँच स्थापित हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकलाई सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएको थियो । प्राइम कमर्सियल बैंकले ग्राहक सुरक्षा र प्रणालीको जोखिम न्यूनीकरणका लागि अनलाइन खाता खोल्ने, मुद्दती निक्षेप, ग्राहक पोर्टललगायत केही सेवा अस्थायी रूपमा बन्द गरेको थियो । अहिले बैंकले सूचना नै जारी गरेर सेवा पुनः सुरु भइसकेको जानकारी गराएको छ ।
यस्तै, नबिल बैंकले प्रविधिगत सुधारका क्रममा एनबैंक माइक्रोसाइट, जेनअल्फा एप तथा अनलाइन कार्ड अनुरोध र मुद्दती निक्षेप कर्जासम्बन्धी केही सेवा प्रभावित भएको जनाएको थियो । बैंकको प्रमुख वेबसाइट अद्यावधिक गरी पुनः सञ्चालन गरिएको र बैंकिङ प्रणालीमा समस्या नरहेको सूचना सार्वजनिक गरेको छ । माछापुच्छ्रे बैंकले पनि पीएचपीमा आधारित प्रणाली अद्यावधिक गर्न बैंकको वेबसाइट तथा केही वेबमा आधारित सेवा अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको थियो । आवश्यक प्राविधिक काम पूरा भएपछि वेबसाइट र अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको बैंकले जनाएको छ । पीएचपीमा देखिएको सुरक्षा कमजोरीले नेपालका बैंक तथा वित्तीय संस्थाको डिजिटल प्रणालीमा सतर्कता बढाएको छ । सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न बैंकले वेबसाइट तथा वेबमा आधारित सेवा अस्थायी रूपमा बन्द गरेर सुरक्षा परीक्षण र प्रणाली अद्यावधिक गरेका थिए । नेपाल राष्ट्र बैंकका अनुसार वेबसाइट बन्द गर्नु सम्भावित जोखिम नियन्त्रण गर्ने पूर्वसावधानीको उपाय हो । वेबसाइट वा अनलाइन सेवा बन्द हुँदैमा सम्बन्धित प्रणालीमा साइबर आक्रमण भइसकेको वा ग्राहकको विवरण चोरी भएको निष्कर्ष निकाल्न मिल्दैन ।

















