मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
काठमाडौँ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदैछ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिएका छन् । उनका अनुसार ८० प्रतिशतभन्दा बढी खोप केन्द्र विद्यालयमा राखिएको छ । विद्यालयको खोप केन्द्रमार्फत ५३९ र विद्यालय बाहिरबाट १८१ बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेछ ।
पहिलो चरणमा चैत २५ गतेदेखि २९ गतेसम्म नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म नार्पाभूमि गाउँपालिकामा खोप दिइनेछ । उनले १५ वर्षमुनिका बालबालिकामा टाइफाइडको सङ्क्रमण ११ गुणाबढी हुने भएकाले पन्ध्र महिनादेखि १५ वर्षमुनिका समूहलाई प्राथमिकतामा राखेर खोप दिन लागिएको बताए ।
प्रमुख आचार्यकाअनुसार अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ७२ जनशक्ति परिचालन गरिएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्लाका स्वास्थ्यकर्मीलाई यसअघि नै तालिम तथा अभिमुखीकरण गरी खटाइसकिएको छ । यसका लागि जिल्लामा ७५४ खोपको मात्रा प्राप्त भएको छ । खोप लगाएपछि ज्वरो आउने, खोप लगाएको भाग रातो हुने, सुन्निने, दुख्ने, शरीरमा बिमिरा आउने, जोर्नी दुख्ने, वाक्वाकी लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिने हुँदा आत्तिन नहुने जनाइएको छ ।
टाइफाइड म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने सङ्क्रामक रोग हो । सङ्क्रमित व्यक्तिको दिसाका माध्यमबाट टाइफाइड रोगका जीवाणु बाहिरी वातावरणमा पुगेर स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीका माध्यमबाट सर्ने गर्दछ । कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएका, उच्च ज्वरो, सिकिस्त बिरामी, एड्सको लक्षण देखिएका व्यक्तिले टाइफाइडविरुद्धको खोप लगाउन नहुने उनले बताए । १५ वर्षमाथि उमेरका व्यक्तिले सरसफाइमा ध्यान दिनसके उक्त रोगबाट बच्न सकिन्छ । टाइफाइडविरुद्धको खोप देशैभरका ७५ लाख बालबालिकालाई लगाइनेछ ।