वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उनले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिएका छन्।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्ता लागे पनि उक्त अनुसन्धानले नेपालको स्वास्थ्य नीतिमा सहयोग पुर्याइरहेको बताए ।
नेपालमा नै दक्ष चिकित्सक र वैज्ञानिक उत्पादन गनुपर्नेमा जोड दिँदै उनले भने, “नेपालमा नै चिकित्सक उत्पादन गर्ने शिक्षा नदिएर विदेश पठाइरहेका छौँ, हामीले नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले सम्मेलनले सरकारलाई स्वास्थ्यसम्बन्धी महत्वपूर्ण नीति निर्माणमा सुझाव दिन सहयोग गर्ने बताए । उनले राजनीतिक प्रणाली स्थिर नभए पनि मुलुकको स्वास्थ्य प्रणाली स्थिर हुनुपर्ने बताए ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य अनुसन्धान गर्नका लागि प्रादेशिक स्वास्थ्य अनुसन्धान परिषद् गठन गर्ने बताएका छन् । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले स्वास्थ्य र शिक्षाजस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्नु नहुने बताए । उनले वडा तहबाट नै सबैलाई गुणस्तरिय स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्ने धारणा राखेका छन् । उनले स्वास्थ्य र शिक्षामा बजेट बढाई निःशुल्क सेवा दिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्कर प्रसादले दक्ष चिकित्सकले ग्रामीण क्षेत्रमा पुगी सेवा दिनुपर्ने बताए । उनले विदेशबाट धेरै नै औषधि आउने गरेकाले नेपालमा नै उद्योग खोल्नका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । “नेपालमा नै थप औषधि उद्योग खोल्नका लागि नीतिनियममा के व्यवस्था गर्न सकिन्छ, आयोग तयार छ,” उनले भने, “नेपालमा नै धेरैभन्दा धेरै औषधि उत्पादन गर्ने उद्योग खोलेर विदेशबाट आउने औषधि रोक्नुपर्दछ ।”
‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धन ः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो । स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद्, नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका सवालको अन्तर विषयात्मक अनुसन्धानका निष्कर्ष सम्बोधन गर्ने अभ्यासमा टेवा पुर्याउन सम्मेलन आयोजना गरिएको कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सम्मेलनका लागि स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवम् विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेशन अनुसन्धानलगायत विषयमा अनुसन्धानकर्ताले आफ्नो खोज तथा अनुसन्धानका बारेमा १५३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछन् ।
सम्मेलनमा ३१ राष्ट्रिय विज्ञ र २२ अन्तर्राष्ट्रिय विज्ञलाई आमन्त्रित प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएको उनले बताए । प्रस्तुतीकरण मध्येबाट एक एकजनालाई उत्कृष्ट प्रस्तुतीकरण र उत्कृष्ट पोष्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ । यस्तै बायोमेडिकल जनरलमा विगत पाँच वर्षमा सबैभन्दा बढी आर्टिकल प्रकाशित गर्ने एक नेपाली अनुसन्धानकर्तालाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिनेछ ।
साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार साथै स्वास्थ्य क्षेत्रमा वैज्ञानिक अनुसन्धान वा यसको कार्यान्वयन वा महत्वपूर्ण आविष्कारमा महत्वपूर्ण योगदान पु¥याउनु भएका ६० वर्ष पुगेका नेपाली वैज्ञानिकलाई स्वास्थ्य अनुसन्धान लाइफटाइम अचिभमेन्ड अवार्डद्वारा सम्मानित गरिने छ । परिषद्ले हरेक वर्ष स्वास्थ्य वैज्ञानिक सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनबाट आएका निष्कर्षलाई सरकारले स्वास्थ्यको नीति निर्माण तहमा सुझाव दिनेछ ।