प्रदूषणरहित विकासको परिकल्पना
काठमाडौँ । देशमा प्रदूषण कति खतरनाक स्तरसम्म पुगेकोछ, त्यसको आँकलन यसै तथ्यबाट लगाउन सकिन्छ कि विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये नेपाल २०औँ स्थानमा छ । राजधानी काठमाडौंको अवस्था त यस कुरामा झनै बेहाल छ, प्रमाण खोज्न टेकु अस्पताल पुग्दा हुन्छ । तातिँदो धर्ती, बढ्दो सङ्कट, सिद्धिँदै जङ्गल र हावामा मिसिएको प्रदूषणको विषबारे गुनासो त सबैले गर्छन् तर पर्यावरणको बिग्रँदो अवस्थाबारे जिम्मेवार हुनुपर्ने सरकार भने सुतेको छ । यसबारेमा जनसाधारण जानकार छन् । बाग्मती, विष्णुमती, मनोहरातिर साताको एउटा शनिबार ठूलाबडा आएर फोहोर सङ्कलन गरेर लैजान्छन् । बाँकी ६ दिन हामीले प्लास्टिक बेरेर त्यही खोलामा ढुक्क भएर फोहोर फाल्छौँ, जबकि पर्यावरणको विषय समग्र समुदायसँग जोडिएको हुन्छ । उचित योजनाहरू सँगसँगै धर्तीमा उपलब्ध संशाधनहरूको संयमित उपभोग र सही जीवनशैलीले नै यस व्यापक विषयलाई प्रभावकारी रूपले सम्बोधित गर्न सक्छ ।
यहाँसम्म कि पर्यावरण संरक्षणमा सरकारी या गैरसरकारी प्रयास पनि प्रभावकारी रूपमा त्यतिबेला सफल हुनेछ, जब जनमानसमा सोच एवं संवेदनाशीलता आउँछ । किनकि, पर्यावरणलाई बिगार्न र वातावरणलाई यो हदसम्म विषाक्त बनाउनमा आजको युगको जीवनचर्या पनि कम जिम्मेवार छैन । यसलाई ढोँगी संस्कृति भन्ने कि ऐस आरामको लहड ! अब त आवश्यकतामाथि इच्छाहरूको भार थपिँदो छ । आवश्यककताबिना नै सवारी साधन खरिद गर्ने अनि २–४ पाइला पनि हिँड्न नचाहने जीवनशैलीले हाम्रो भविष्यमाथि नै प्रश्न चिह्न लगाउँदै छ । घरमा प्रत्येक आवश्यक/अनावश्यक सुविधा जोर्नु अब महानगरहरूमा मात्र होइन, गाउँघरतिर पनि सामान्य कुरा भएको छ । सोच्नुपर्ने कुरा यो छ कि यस्तो सुख/सुविधामा अभ्यस्त हुँदै गएका मानिसहरू अहिले यी चिजबिना पनि सहज जीवन बाँच्न सक्थे । आधुनिक जीवनशैलीसँग जोडिएका यस्ता तमाम मानिसहरू धर्तीमाथि अतिरिक्त बोझ बढाउने त हुँदै हुन्, साथै पर्यावरणलाई पनि सीमासम्म नोक्सानी पुर्याइराखेका छन् । वास्तवमा उपभोक्तावादी संस्कृति भएका मानवीय बानी बेहोराले पनि प्रकृतिलाई दूषित बनाइरहेको छ ।
असीमित मानवीय आवश्यकताहरू र गतिविधिहरूले धर्ती, जल तथा वायु सबैलाई प्रदूषित गरेको छ । जहाँ रूख बिरूवालाई पूजा गर्ने परम्परा थियो, त्यही पहाडदेखि मरुभूमिसम्म देशको प्रत्येक भागमा प्राकृतिक संशाधनहरूको दोहन भइरहेको छ । पर्यावरण सुरक्षित गर्नका लागि जागरुकता तथा जिम्मेवारीको भावना दैनिक बानी बेहोराको हिस्सा हुनु आवश्यक मानिन्छ । यस जिम्मेवारीको सबैभन्दा पहिलो पाइला पर्यावरण दोहनलाई रोक्नु मानिन्छ । निःसन्देह यो तब मात्र सम्भव हुनेछ, जब हाम्रा आवश्यकता सीमित होऊन् । विचारणीय कुरा यो पनि छ कि हाम्रो संस्कृतिमा पुनः प्रयोग हुन नसक्ने कुनै पनि चिजको प्रयोगको प्रावधान थिएन । त्यही अब ‘प्रयोग गर अनि फाल’को संस्कृति द्रूत गतिमा बढ्दो छ । धर्तीको छातीमा बढ्दो फोहोरको पहाड यसको साक्षी छ । सामाजिक आयोजनदेखि घरेलु अवश्यक काममा पनि प्रयोग हुने यस्ता धेरैजसो सामग्रीहरू प्लास्टिकबाट बनेका छन् । धेरै पहिले गरिएको एउटा अध्ययनअनुसार २०४७ सालसम्म फोहोरको उत्पादन ५ गुणाले बढ्ने छ भनिएको थियो । देशमा फोहोरमैला व्यवस्थापन पहिलेदेखि नै समस्या बनेको छ, यहाँ आउँदा दिनमा फोहोरमैलाको उत्पादन बढ्नु चिन्ताको विषय मान्न सकिन्छ ।
एकातिर विकास अनि औद्योगिकीकरणको नाममा प्राकृतिक संशाधनहरूको दोहन भएको छ । अर्कोतिर बदलिँदो दिनचर्याका कारण धर्तीको हावापानी बदलिने गरेको छ । हामीले प्रकृतिबाट लिन त सिक्यौँ तर उसलाई केही पनि शोधभर्ना गर्नुपर्छ भन्नेचाहिँ बिस्र्यौं । निःसन्देह, प्रकृतिले मानिसको आवश्यकता परिपूर्ति गर्ने सामथ्र्य राख्छ तर मानिसले सबै खोस्न लागेको छ । हाम्रो जस्तो जनसङ्ख्या द्रुत गतिमा बढिरहेको देशमा प्रकृतिको संरक्षण गर्न अतिरिक्त प्रयास गरिनुपथ्र्यो । तर, मानिसको सासका लागि शुद्ध हावा दिने रूख बिरुवा पनि संरक्षणको अभावमा मृत्युवरण गरिरहेका छन् । सेन्टर फर ग्लोबल डेभलपमेन्टको एउटा चेतावनीअनुसार यदि रूख बिरुवा घट्ने क्रम यसै गतिमा रहिरहे सन् २०५० सम्ममा विश्व मानचित्रबाट भारतको क्षेत्रफलको बराबर वन जङ्गल सखाप हुनेछ । रूख बचेन भने पृथ्वीको तापमान पनि तेज गतिमा बढ्नेछ । साथै, बढ्दो कार्बन उत्सर्जनले पर्यावरणमा थाप गर्मी बढाउनेछ । विचारणीय कुरा यो छ कि हामीकहाँ बढ्दो आर्थिक विकास, आर्थिक समृद्धि सुविधा सम्पन्न जीवनशैली, शहरीकरण तथा प्रतिव्यक्ति बढ्दो ऊर्जाको खपतले प्रत्येक वर्ष कार्बन उत्सर्जन बढाउँदो छ । ऊर्जाको बढ्दो खपत तथा व्यावसायिक उपभोगबाहेक दिनरात चल्ने घरेलु उपकरण र बढ्दो बाहन आदिका कारण पनि प्रदूषण बढिरहेको छ । यही कारण बितेका केही वर्षहरूमा पर्यावरण असन्तुलनको स्थिति उत्पन्न हुन गएको छ । अहिले त्यसको नतिजा प्रत्यक्ष रूपमा सामुन्ने आउन थालेको छ । बढ्दो गर्मी अहिले नै ज्यानमारा साबित हुँदै छ ।
अब चिसो पनि बेमौसमी तरिकाले बढ्दै छ । साथै, प्राकृतिक विपद्हरू पनि बढ्दै गइरहेका छन् । सुख, सुविधा जुटाउँदा जुटाउँदै मानिस यो भूल गर्दै छ कि पर्यावरण संरक्षण स्वयं उसको आफ्नो अस्तित्व बचाउनका लागि पनि आवश्यक छ । धर्तीको दोहनको सीमा पार गर्ने खालको उसको बानी बेहोराले स्वयं उसलाई जिउन गाह्रो पार्दै छ । विषाक्त हावाका कारण भ्रुणमा भइरहेको परिवर्तनले मेन्टल डिसअडर, दुब्ला–पातला, सुस्त मनस्थिति वा आँखाको समस्या भएका बच्चा जन्मिँदै छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आज विश्वका शहरी क्षेत्रहरूमा वायु प्रदूषण सबैभन्दा ठूलो समस्याको रूपमा मानिस सामुन्ने आएको छ । यति मात्र होइन, देशको ठूलो जनसङ्ख्यालाई सफा पेयजल उपलब्ध हुन सकेको छैन । दूषित खानेपानीका कारण धेरै सङ्क्रामक रोग फैलिरहेका छन् । अमेरिकी साइकोलोजिकल एसोसिएसन तथा इको अमेरिकाको शोधकर्ताहरूको अध्ययनले इङ्गित गरेको छ कि वैश्विक तपनका कारण मानिसहरूमा मनोग्रन्थी, चिन्ता र अनिद्रा बढ्दो छ । मानिसहरूको व्यवहार लगातार हिंस्रक हुँदै छ । भन्नु गल्ती नहोला कि पर्यावरण सङ्कटका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देश र दुनियाँका प्रत्येक व्यक्तिलाई पिरोलेको छ । यो सामुदायिक चिन्ताको विषय पनि हो, जसका लागि साझा जिम्मेवारी निर्वाह गर्ने सोचाइ जरुरी छ । जनसमुदायले भौतिक सम्पत्ति जुटाउने लालसायुक्त मानिसकताभन्दा माथि उठेर पनि यसमा ठूलो योगदान दिन सक्छन् । सहज जीवनशैली अपनाएर प्रकृतिको फिक्का भइरहेका रङहरूलाई संरक्षण गर्न सक्छन् । सरकारी प्रयास आफ्नो ठाउँमा छ तर पर्यावरणलाई क्षति पुर्याउने क्रियाकलापबाट बच्नु र प्रकृतिमाथि आफ्नो आवश्यकताको बोझ नबढाउनुले पनि पर्यावरणलाई बचाउनमा धेरै मद्दत पुग्न सक्छ ।