विभिन्न ठाउँमा सवारी दुर्घटना हुदाँ ६ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पर्वत, कैलाली, सर्लाही, काठमाडौं र सप्तरीमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–८ ओडारेमा ग.१ ख ५२१८ नम्बरको बसले ग.१ ज ७२५६ नम्बरको जिपलाई बुधबार ठक्कर दिँदा जिपका चालक सहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १४ जनामध्ये ६ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने गम्भीर अवस्थामा रहेका एक जनाको गण्डकी अस्पताल पोखरामा र अन्यको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ भैसीहाट बजार नजिक म.१ क ४२९ नम्बरको टिपरले से.४ प ६३१८ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर कृष्णपुर नगरपालिका बस्ने २३ वर्षीय दिपेश चौधरी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा ना.५ ख ५५१५ नम्बरको बस र प्रदेश ३–०१–०२५च ५७४३ नम्बरको गाडी बुधबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने ३७ वर्षीय भिम राजबंशीको रेहका छन् । दुर्घटनामा घाइते भएका बस चालक समेत १० जनाको मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थली हरीयाली नगरमा बिहीबार बिहान ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भइ काठमाण्डौ थली बस्ने अन्दाजी ६० वर्षीय नर बहादुर खड्का रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नारायणटार स्थित शंखरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको बलानबिहुल गाउँपालिका–६ सेहरा चोकमा गएराती ३ जना सवार मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय लोचन यादव रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय ८ वर्षीया कृतिका कुमारी यादब र भगवानपुर गाउँपालिका ३ का २२ वर्षीय अनिल कुमार यादबको धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *