विराटनगर महानगरपालिकाबाट कांग्रेस उम्मेदवार कोइराला विजयी

काठमाडौँ । विराटनगर महानगरपालिकाबाट कांग्रेसका उम्मेदवार अन्तिम नतिजा अनुसार नागेश कोइराला ३० हजार १७० मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सागरकमार थापाले २१ हजार ४५५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले पाँच हजार २१६ मत पाए । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसले परम्परागत गढ मान्दै आएको विराटनगरको मेयरको उम्मेदवार बनेपछि उनले करको दर घटाउने विषयलाई अघि सारे । पार्टीभित्र मेयरका दाबेदारमध्ये तुलनात्मक रुपमा कमजोर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलताको मुद्दा पनि उठाए । कर घटाउने र भ्रष्टाचार रोक्ने मुद्दा उठाएका कारण उनलाई मतदाताले अनुमोदन गरे ।

मेयर निर्वाचित भएका कोइरालाको योजना अव्यवहारिक कर प्रणाली सुधार्ने छ । भ्रष्टाचारमा शून्य सहनशीलता, खानेपानी, फोहोरमैला व्यवस्थापन उनको प्राथमिकतामा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर र सात वटा वडा नेपाली कांग्रेसले जितेको छ । यो पटक मेयर र ६ वटा वडाको अध्यक्ष जितेको छ । गत चुनावमा तीनवटा मात्रै वडा जितेको नेकपा एमालेले यो पटक उपमेयर र ९ वटा वडाध्यक्ष जितेको छ ।

गत चुनावमा मधेशी समुदायको बसोबास रहेको दक्षिणी क्षेत्रका ६ वटा वडा जितेको जसपा यो पटक दुई वडामा खुम्चिएको छ । पहिले एउटा वडा जितेको माओवादी केन्द्रले यसपटक कुनै पनि वडामा जित्न सकेन । एमालेबाट विराटनगर १ को अध्यक्षमा काजीबहादुर बस्नेत, २ मा कुमार पोखरेल, ३ मा बासुबहादुर बस्नेत, वडा नम्बर ४ मा जितन थापा, ८ मा राम पोखरेल, १० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने, १४ मा सुर्यनारायण महतो, १९ मा श्याम घिमिरे निर्वाचित भए ।

नेपाली कांग्रेसबाट वडा नम्बर ५ मा सन्तोष न्यौपाने, ६ मा हरिशचन्द्र सहनी, ७ मा मधुवावु तिवारी, ९ मा विश्वनाथप्रसाद भगत, १५ मा प्रकाश साह, १६ मा उद्धवकुमार भुजेल निर्वाचित भएका छन् । विराटनगर – १२ मा जसपा उम्मेदवार हिरालाल कामत र १७ मा समिम कमर मिया निर्वाचित भएका छन् । १३ मा राप्रपा उम्मेदवार सूर्यलाल यादव निर्वाचित हुँदा वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार शाह विजयी भए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *