ओलीले संकेत गरेका एमालेमा को को हुन् अन्तर्घाती ?

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको छैन, ३० वर्षदेखिका एमालेका गढ भत्किएको छ । आफ्ना परम्परागत गढ भत्केपछि एमालेमा अहिले हलचल मच्चिएको छ । एमाले अध्यक्षका केपी ओलीले स्थानीय तहको निर्वाचनमा पार्टी हार्नुको मुख्य कारण अन्तर्घात भएको बताएपछि फेरि एकपटक एमालेमा ठूलै बबन्डर मच्चिने संकेत देखिएको छ ।

आफ्नै पार्टीका प्रमुख र उपप्रमुखका उम्मेदवार हराउन केन्द्रीय नेताहरू नै लागेको भेटेपछि ओलीले कारबाहीको डण्डा चलाउने अनुमान गरिएको छ । खासगरी हिजो एमालेमा किचलो बढ्दा माधवकुमार नेपाललाई अन्तिममा साथ छाडेर ओलीलाई साथ दिएका १० भाइमाथि अहिले संकटको कालो बादल मडारिएको छ ।

एमालेले ठाउँठाउँमा हार बेहोर्नुको मुख्य कारण ती नेताहरू परिचालित नभएको र पार्टीकै उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । रुपन्देही, कास्की, गुल्मी, झापा, ताप्लेजुङ, इलाम, दोलखा, काठमाडौं, अछाम, मकवानपुरलगायतका जिल्लामा एमाले हार्नुको कारण १० भाइहरूकै निष्क्रियता भएको निष्कर्षमा ओली पुगेका छन् ।

काठमाडौं र पोखरा महानगरपालिका गुमाउनुको मुख्य कारण केन्द्रीय नेताहरूले नै असहयोग गरेको, अन्तर्घात गरेको निष्कर्षमा ओलीलगायतका नेता पुगेका हुन् । पोखरामा त पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीको खुलेआम भिडन्त भयो । दुवैले एकअर्कालाई देखाइदिने भन्दै असहयोग गरेपछि कृष्ण थापा मेयरमा पराजित भएका छन् ।

यसपटक स्थानीय तहको निर्वाचनको कमान्डर बनेका ओली एक्लै सबै जिल्ला र सहरमा पुगेका थिए । उनले योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे जस्ता नेतालाई कतै पनि भाषण गर्न लगेनन् । तर यतिबेला पार्टी हारेपछि उनी अन्तर्घात भएको गुनासो गर्न थालेका छन् । निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न एमालेले आन्तरिक रूपमा फार्म प्रत्येक स्थानीय तह पठाउने र गोप्य रूपमा भरेर केन्द्रमा पठाउन सर्कुलर गरेको स्रोतले बतायो ।

काठमाडौं महानगरमा केशव स्थापित पराजित हुनुमा रामवीर मानन्धर, विद्यासुन्दर शाक्यलगायतले अन्तर्घात गरेको एमाले नेता कार्यकर्ता बताउँछन् । यस्तै, दोलखामा पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलबीच आन्तरिक संघर्षका कारण कांग्रेसले एमालेको ३० वर्षदेखिको गढ भत्काएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *