कामपाको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डङ्गोल निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका छन् । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी हुन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भएका छन् ।

कामपाको उपप्रमुखमा एमालेका उम्मेदवार डङ्गोलले निकटतम प्रतिस्पर्थी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठलाई ४४ हजार ८०६ को भारी मतान्तारले पछि पार्दै विजय भएकी हुन् । नव निर्वाचित डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गर्दा श्रेष्ठले २३ हजार ८०६ मतमा सीमित भए । कामपाको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जानको उम्मेदवारी परेको थियो । कामपाका ३२ वडा र प्रमुख–उपप्रमुखसहित १६२ जनप्रतिनिधि रहनुपर्ने भए पनि वडा नं २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हुनाले १६० प्रतिनिधि रहनेछन् ।

कामपाका ३२ वडामध्ये १९ मा कांग्रेसका उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भएका छन् भने १२ वडामा एमालेको उम्मेदवार अध्यक्षमा विजयी भएका छन् । वडा नं १५ मा एकीकृत समाजवादीका प्यानलसहित ईश्वरमान डङ्गोल विजय हात पारेका हुन् । उहाँ कामपाको पूर्व नगर प्रवक्तासमेत थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको गणना ३१ गते शनिबारबाट सुरु गरी १३ दिनपछि जिल्ला निर्वाचन कार्यालय काठमाडौँले प्रमुख–उपप्रमुखसहितको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो । उक्त निर्वाचनका लागि कामपामा मात्रै १५६ स्थल र ३६३ केन्द्र तोकिएको थियो । यहाँ तीन लाख २४२ मतदाता रहेको भने पनि करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यसमा सात हजार ६८२ मत पूर्ण बदर भएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *