मन्त्रालय फुटाएर लोसपालाई सरकारमा ल्याइदै
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई आफ्नो पक्षमा ल्याउन नेकपा (एमाले) र नेपाली काँग्रेसबीच भइरहेको हानथापमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाजी मार्ने भएका छन् । लोसपालाई तत्काल दुईजना मन्त्री र एकजना राज्यमन्त्री दिएर सरकारमा लैजाने विषयमा अध्यक्ष महन्त ठाकुर र प्रधानमन्त्री देउवाबीच सहमति भइसकेको स्रोतले बताएको छ ।
लोसपाको माग पनि सम्बोधन गर्ने सरकारमा सहभागी गराएर आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरी मधेश प्रदेशमा पुरानो साख फर्काउने रणनीतिमा प्रधानमन्त्री देउवा लागेपछि गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा) लाई ज्वरो आएको जानकारहरुले बताएका छन् । लोसपामा अधिकांश नेता काँग्रेस पृष्ठभूमिकै रहेका छन् । लोसपालाई दिने दुईवटा मन्त्रालयमध्ये ऊर्जा, जलस्रोत र सिंचाइ अथवा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याएर एउटा मन्त्रालयको जिम्मेवारी दिने र प्रधानमन्त्री आफैँले राखेको रक्षा मन्त्रालय काँग्रेसले लिएर काँग्रेसको मन्त्रालयमा लोसपालाई मिलाउने गरी तयारी भइरहेको समाचार स्रोतले बताएको छ ।
बाँकी एकजना राज्यमन्त्रीमा हाल प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाइने बताइएको छ । लोसपाल गत जेठ २४ गते ११ बुँदे लिखित मागसहित सरकारमा जाने इच्छा देखाएको छ । लोसपा अध्यक्ष ठाकुर पनि गैरसांसदहरुलाई मन्त्री बनाउने अवस्था आए सम्धी उमाकान्त झालाई प्रस्ताव गर्ने चर्चा चलेको छ तथापि सांसद्हरुले आपत्ति जनाएको बताइएको छ ।