नेपालमा पत्रकारिता र मानवअधिकारको परिभाषा लाजमर्दो छ
काठमाडौँ । नेपाली पत्रकारिता र मानअधिकारको क्षेत्रमा राजन कुइँकेल सुपरिचित नाम हो । विक्रम सम्वत् २०५० बाट उच्च शिक्षा अध्ययनसँगै करिब सात वर्ष अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेन (यूएस) मा बिताउनुभएका उहाँ २०५८ देखि ईमेज च्यानल टेलिभिजनमार्फत् मुलधारको पत्रकारितामा जोडिनुभएको हो । विश्वकै ठूलो मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल (एआई) को नेपाल अध्यक्ष (सन २०१६–२०१८) समेत रहनुभएका कुइँकेलसँग यहाँको पत्रकारिता र मानवअधिकारको अवस्था आदि विषयमा केन्द्रित रही कालिका महतले गरिएको वार्ताः
तपाईंको पृष्ठभूमि संक्षिप्तमा बताई दिनुहोस् न ?
मेरो जन्म नुवाकोट जिल्लाको सुदूरपूर्वी दुर्गम गाउँ समुद्रटारमा भएको हो । जिल्लाकै श्री दुप्चेश्वर माध्यमिक विद्यालयबाट २०४७ सालमा विद्यालयस्तरीय अध्ययन (एसएलसी) पूरा गरी उच्च शिक्षाका लागि सदरमुकाम विदुरहुँदै काठमाडौं आएँ । त्यसपछि २०५० बाट करिब सात वर्ष अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेन (यूएस)मा काम गरें । त्यही सिलसिलामा सुरुका चार वर्ष नुवाकोट र तीन वर्ष तराईको सिराहा जिल्लामा रहें । यस्तयस्तैमा २०५८ मा निजी क्षेत्रको पहिलो प्रसारण संस्था ईमेज च्यानलमा संवाददाताका रूपमा प्रवेश गरें । अहिले सोही संस्थामा सम्पादकको भूमिकामा छु । ईमेज च्यानलको टेलिभिजन र रेडियो (एफएम) मा राजनीतिक तथा समसामयिक विषयमा अन्तर्वार्ता पनि लिने गर्छु । मैले मूलतः प्रजातन्त्र, मानव (नागरिक) अधिकार, मूलधारबाट पछाडि पारिएका सीमान्तीकृत वर्ग र तिनका अधिकारजस्ता विषय उठान गर्छु । अहिले पनि पत्रकारिता र मानवअधिकारलाई साथै लिएर अघि बढिरहेको छु । यसै दौरानमा विभिन्न देशमा भएका मानवअधिकारसम्वन्धी सम्मेलन र भेलामा सरिक हुने अवसर पनि पाएँ । युरोपका दशभन्दा बढी मुलुक, अमेरिका तथा एसियाका विभिन्न स्थानमा मानवअधिकारसम्बद्ध गोष्ठीमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै देशभित्र र बाहिरको मानवअधिकारबारे आफ्ना धारणा राखें ।
मानवअधिकारबाट किन पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभयो त ?
एक त यी दुवै एकअपासमा परिपुरक हुन् । अर्को पत्रकारिताको क्षेत्रबाट मानवअधिकारको पाटो अझ सशक्त ढंगले उठाउन सकिने ठानेर यता आएको हुँ । मानवअधिकारको क्षेत्रमा त विगत दुई दशकभन्दा अघिबाटै अनवरत सक्रिय छदै छु नि । मुख्यतः आवाजविहीनहरुको आवाजलाई आम सञ्चारमार्फत दुनियाँसमक्ष पु¥याउन नै पत्रकारितामा प्रवेश गरेको हुँ । हुन त पत्रकारितामात्र होइन– हरेक पेशाभित्र सुख र दुःख दुवै छन् । यसलाई कसरी ग्रहण गर्ने भन्ने हो । त्यो व्यक्ति विशेषमा निर्भर रहन्छ । यस पेशाका सुख भन्नुस् या राम्रो पक्ष, धेरैभन्दा धेरै क्षेत्र, समूह, व्यक्ति र पेशाका व्यक्तिसँग एकाकार हुने अवसर, जसले आफूलाई देश, काल, परिस्थिति र व्यवस्था बुझ्न मद्दत गर्दछ । समाजले पत्रकारिता पेशालाई गर्ने सम्मान अर्को छुटाउनै नहुने विषय हो । यद्यपि, समाजले गरेको अपेक्षा र विश्वासमा समग्र पत्रकारिता क्षेत्र कति खरो उत्रन सकेको छ भन्ने अर्को बहसको विषय होला । राजादेखि रंकसम्मको दैलो खुला रहनु पत्रकारिता पेशाप्रति सम्मान हो । पत्रकारिता पेशा आफ्ना लागि भन्दा सर्वसाधारणका पक्षमा गरिने काम हो । उसै पनि पत्रकारितालाई चौथो अंगका रूपमा लिइनुपछि पनि यस्तै÷यस्तै कारण छन् ।
शुरुवाती चरणमा नेपालको मानवअधिकारको क्षेत्र कस्तो पाउनुभयो ?
त्यो कालखण्डमा हिमाल, पहाड र तराईको सांगोपांग अध्ययन गर्ने मौका पाएँ । त्यसबेला मुलुक सशस्त्र हिंसाले ग्रस्त थियो । चेतना र विकासका लागि काम गर्न अरुको आँखाको तारो बन्नु पर्दथ्यो । अलग विचार र मतप्रति असहिष्णु कि आत्मसमर्पण गर्न या परिणाम ब्यहोर्न धम्की दिन्थे । अपहरण, अंगभंग र हत्या सामान्य थियो । यद्यपि पछि फरक भूमिकामा रहे पनि मैले आफ्नो क्षेत्र, काम, कर्तव्य र जिम्मेवारी छोडिनँ ।
पत्रकारितामा प्रवेश गरेपछि चाहिँ फरक के पाउनुभयो ?
मैले पत्रकारिता थाल्दा मुलुक नेकपा माओवादीले थालेको हिंसा तथा सरकारी प्रतिहिंसाको शिखरमा थियो । सरकारी सुरक्षाकर्मी र माओवादी लडाकूमात्र मारिइरहेका थिएनन्– युद्ध र हिंसासँग पटक्कै सरोकार नभएका निर्दोष नागरिक पनि दुवैखाले बन्दुकको चपेटामा पारिएका थिए । दिनदहाडै दुवै पक्षबाट मानवअधिकारको चरम उल्लंघन र अत्याचारको क्रम बढ्दो थियो । बन्दुकको दबदबामा नागरिक आवाज दबाइएको थियो । शहरदेखि गाउँसम्म त्रस्त थियो । पछिसम्म गर्दा विद्रोही र राज्यको हिंसा–प्रतिहिंसामा परेर १७ हजारभन्दा बढी नागरिक मारिए । हजारौं व्यक्तिलाई बेपत्ता, अंगभंग र थातथलोबाट पलायन हुन बाध्य गरिए । सम्पत्ति लुटिए । प्रजातन्त्र, मानवअधिकार, नागरिक स्वतन्त्रताजस्ता आधारभूत स्वतन्त्रतालाई प्रिय ठान्ने हामीजस्ताका लागि एकाकार हुँदै योगदान दिन सक्ने स्थान केही हदसम्म पत्रकारिता पाएँ । र, यस पेशामा हेलिएँ । पत्रकारिता थालेदेखि आजका दिनसम्म पनि मैले आफ्नो ध्येयलाई बदलेको छैन । मेरा एउटा प्रयासले कति योगदान पुग्यो पुगेन त भन्न सक्दिनँ तर मप्रतिको विश्वासमाथि इमानदार हुने प्रयास भने गरेको छु । समाचार, आलेख र विचार लेख्दा होस् वा टेलिभिजन, रेडियोको सेट अघि कार्यक्रम चलाउन बस्दा जनताको बृहत्तर हितका पक्षमा नै केन्द्रित भएर विषय उठान गरिरहेको छु । साँचै भन्ने हो भने अझै पनि नेपालमा पत्रकारिता र मानवअधिकारको परिभाषा लाजमर्दो छ । तर, मैले वास्तविक पत्रकारिता र मानवअधिकारको मर्मअनुरुप राष्ट्रिय÷अन्तर्राष्ट्रिय मञ्चमा पीडितको पक्षमा बोल्न–लेख्न छोडेको छैन ।
नेपालमा मानवअधिकारको वर्तमान स्थिति कस्तो छ ?
सरसर्ती हेर्दा मुलुकमा पहिलेजस्तो हत्या हिंसा मच्चिएको छैन । मानिसहरुको पेशा व्यवसाय सामान्यतः चलिरहेको छ । राज्यसत्तामा रहेकाहरुले मुलुक सहज बाटोमा चलिरहेको व्याख्या गर्न सक्छन् । तर, के साच्चै देश र मुलुकवासीले चैनको सास फेरिरहेका छन् त ? त्यस्तो देखिँदैन । वर्षौवर्षदेखि न्यायका लागि भौतारिएका मानिसहरु न्यायबाट बिमुख बनाइएका छन् । उदाहरणका लागि २०५२ सालमा माओवादीले शुरु गरेको हिंसा–प्रतिहिंसाबाट प्रताडित बनाइएका पीडितहरुले अझैसम्म न्याय पाउन सकेका छैनन् । राज्यसत्ताका हरेकजसो अंगहरुमा पीडकहरुको राजगज चलिरहँदा पीडितहरु किनारामा बसेर सुस्ताउन बाध्य भएका छन् । राज्यले प्रदान गर्नुपर्ने न्यूनतम सेवा सुबिधासम्ममा पनि भुइँमान्छेहरुको पहुँच टाढिँदो छ ।
संक्रमणकालिन मुद्दाको यो हविगत छ भने मानवअधिकारका अरु विषय ओझेलमा परेका छैनन् त ?
विल्कुलै, एउटै विषयमा लामो समय गुजार्नुपर्दा अरु विषय ओझेलमा परेका छन् । राजनीतिक त परै जावस् गैरराजनीतिक पक्ष नियाल्दा पनि तीन महिने दूधे बालिकादेखि, किशोरी, महिलाहरु दिनदहाडै बलात्कृत भइरहेका छन् । प्रहरीसम्म पुगेकामात्र घटनालाई हेर्ने हो भने यो संख्या दैनिक आठ–दश रहेको छ । तिनको न्यायका लागि हाम्रा संयन्त्रहरु कत्तिको संवेदनशील छन् ? निर्मला पन्त बलात्कारपछि हत्याको प्रकरणले यी तमाम घटनाहरुमा राज्यसंयन्त्रलाई कसरी गिज्याइरहेको छ ? हाम्रा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका बाचाहरु कसरी झूठको पुलिन्दामा परिणत भएका छन्, यि प्रकरणहरुले देखाइरहेको छैन र ? घरभित्र र कार्यालयभित्र हुने महिला हिंसाका विषयमा त गर्नुपर्ने जत्ति काम हुनै सकेका छैनन् ।