विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । काठमाडौं, चितवन, सर्लाही, धादिङ र मोरङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलोनी नजिक प्रदेश १–०२१ च २९५६ नम्बरको कार र प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार सोही नगरपालिका–६ धापासी बस्ने ५ वर्षीय प्रियन्स उप्रेती रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको कालिका नगरपालिका–५ सिमाचोकस्थित सडकमा ना।३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ बस्ने ५० वर्षीय बल बहादुर तामाङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको मलगंवा नगरपालिका–६ लखनदेई खोलास्थित सडकमा ज।१ त ३८२४ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनार रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
धादिङको निलकण्ठ नगरपालिका–३ इजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा।१८ च २८२० नम्बरको बोलेरो मंगलबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडीमा सवार निलकण्ठ नगरपालिका–२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको बेलवारी नगरपालिका–४ बेतनामा ना।६ ख ५५४४ नम्बरको ट्रकले को।२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक बेलवारी नगरपालिका–५ बस्ने २६ वर्षीय बिक्रम राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।