नबिलको ‘नबिल दिगो बैंकिङ’ योजना
काठमाडौं । नबिल बैंकले गत वर्षको असार १५ गतेबाट सञ्चालनमा ल्याएको नबिल दिगो बैंकिङ योजना अन्तरगत ४१ करोड रुपैयाँ बढी कर्जा वितरण भएको जनाएको छ । बैंकले २०७८ को धान दिवसका दिन ‘नबिल दिगो बैंकिङ’ को शुभारम्भ गरेको थियो ।
उक्त योजना सार्वजनिक भएको पहिलो वार्षिकोत्सवमा बैंकले आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको उक्त कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको र ती मध्ये करीब ६ हजार महिलाहरू रहेका बैंकले जनाएको छ । बैंकले ‘नबिल दिगो बैंकिङ’ अन्तर्गत वित्तीय पहुँच न्यून भएका आम जनतालाई लक्षित गर्दै दुई किसिमका नबिन कर्जाः ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको थियो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ बैंकले गत वर्ष सो योजना ल्याएको थियो । आफ्नो प्रारम्भिक कालबाटै हाइड्रोमा लगानी गर्नेदेखि लिएर सहुलियत कर्जा प्रदान गर्नाका साथै सामाजिक वातावरण तथा उत्तरदायित्वका क्षेत्रमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको नबिलले हालसम्म नेपालको विभिन्न भू–भागमा तथा वित्तीय क्षेत्र उल्लेखनीय सफलताहरू हात पारेको बैंकले जनाएको छ ।
नबिल बैंकले सन् २०१८ देखिनै १ करोड रुपैयाँभन्दा बढी ऋण सुविधा लिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्स मध्ये कुनै पनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’सञ्चालन गरिरहेको छ । गत वर्ष सुरु भएको नबिल दिगो बैंकिङको वार्षिकोत्सवनमा नबिल बैंकले ‘नबिल ग्रीन विक’ मनाउने भएको छ । उक्त शुभारम्भ भएको एक वर्ष पुरा भएको अवसरमा बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागेको हो । ‘नबिल दिगो बैंकिङ’ को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो ‘नबिल ग्रिम विक’ आषाढ १५ बाट सुरु गर्न लागेको बैंकले जनाएको छ ।
















