घानामा दुई जनामा घातक मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि, सचेत रहन आग्रह

काठमाडौँ । घानामा दुई जनामा घातक मानिएको मारबर्ग भाइरसको सङ्क्रमण पुष्टि भएको छ । इबोलाकै समूहमा पर्ने यो भाइरसलाई निकै संक्रामक मानिन्छ ।

दक्षिणी अशान्ति क्षेत्रका दुवै संक्रमितको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । यो महिनाको सुरुवातमा दुवैको नमुनामा सङ्क्रमण पुष्टि भएको थियो भने अहिले सेनेगलको प्रयोगशालाले यसलाई पुष्टि गरेको छ ।

दक्षिणी अफ्रिकी राष्ट्रका स्वास्थ्य अधिकारीहरूले बिरामीको सम्पर्कका आएका ९८ जनालाई क्वारेन्टिनमा राखिएको जानकारी दिएको छ । हालसम्म यो भाइरसको सङ्क्रमणको उपचार छैन । तर डाक्टरहरूले पर्याप्त मात्रामा पानी पिउने र लक्षणअनुसार उपचार गरे बिरामीलाई बचाउन सकिने बताएका छन् ।

यो भाइरस चमेरोबाट मानिसमा सर्छ भने मानिसदेखि मानिसमा शरीरको तरल पदार्थबाट सर्ने गर्दछ । यसको लक्षणहरूमा टाउको दुख्ने, ज्वरो, मांसपेशी दुख्ने, रगत छाद्ने आदि रहेका छन् । अधिकारीहरूले मानिसहरूलाई गुफाहरूबाट टाढा रहन र मासु राम्ररी पकाएर मात्र खान आग्रह गरेका छन् ।

पहिलोपटक मारबर्गको सङ्क्रमण सन् १९६७ मा जर्मनीमा पुष्टि भएको थियो । त्यतिबेला ७ जनाको मृत्यु भएको थियो । त्यसयता एंगोल, कङ्गो, केन्या, दक्षिण अफ्रिका र युगान्डामा बेलाबेला यसको सङ्क्रमण पुष्टि भएका छन् । सन् २००५ मा एंगोलामा यस भाइरसको सङ्क्रमण फैलिँदा २ सयभन्दा बढीको मृत्यु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *