नारायणस्थान डाँडामा बुद्ध मूर्ति   

बनेपा,  काभ्रेपलाञ्चोकको सबैभन्दा अग्लो ठाउँ बेथानचोक गाउँपालिका–३ स्थित पर्यटकीयस्थल नारायणस्थानको चिप्लेटी डाँडामा बुद्धको मूर्ति स्थापना गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणको समन्वयमा सो मूर्ति स्थापनासँगै बुद्धपार्क परिसरमा वृक्षरोपणसमेत गरिएको छ । पर्यटकीय क्षेत्र बेथानचोकको नारायणस्थान डाँडामा स्थापना भएको बुद्धको मूर्तिले त्यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।    
 उक्त गण स्थापनाको २१८औँ वार्षिकोत्सवको अवसरमा स्थापना गरिएको उक्त मूर्ति उद्घाटन गर्दै २६ नं बाहिनीका प्रमुख सहायक रथी ज्योतिन्द्र महतले भौतिक विकासबाटैै राष्ट्रको समग्र विकासमा टेवा पुग्ने भएको र मूर्ति स्थापनाले पनि यहाँको आयस्रोत बढ्ने बताउनुभयोे । धार्मिक पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको नारायणस्थानडाँडा महाभारत क्षेत्रकै सबैभन्दा अग्लोस्थान भएकाले पनि पालिका र नेपाली सेनाबीचको सहकार्य र समन्वयबाट निर्माण भएको बुद्ध प्रतिमाले अझ थप टेवा पुग्ने उहाँको भनाइ थियो ।    
    
गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बुद्ध मूर्ति स्थापनाले धार्मिक तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । पालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नारायणस्थानडाँडामा यसअघि पनि पालिकाको सहयोगमा भौतिक संरचना निर्माण भएको र अहिले निर्माण भएको बुद्ध मूर्तिले बेथानचोक नारायणस्थानको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उल्लेख गर्नुभयो ।समुद्री सहतबाट तीन हजार १८ मिटरको उचाइमा रहेको नारायणस्थान डाँडाबाट थरिथरिका चराचुरुङ्गीको आवाजसँगै उपत्यका, काभ्रेपलाञ्चोक तथा आसपासका जिल्ला र तराईका फाँट र हिमाल अवलोकन गर्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने गरेको छ ।    
–––  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *