राससको श्रव्यदृश्यबारे टेलिभिजनका सम्पादकको अपेक्ष छ–“हामीलाई छिटो समाचार चाहिन्छ”
काठमाडौँ । सरकारी स्वामित्वको मुलुकको एकमात्र राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको हो ।
राससको समाचार सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा पनि आरम्भ गरिएकोे हो । वि.सं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख (फिचर), फोटो (स्वदेशी र विदेशी) र श्रव्यसेवा सेवासँगै श्रव्यदृश्य पनि आफ्ना ग्राहकलाई उपलब्ध गराउने भएको छ । नेपालमा सञ्चालनमा रहेका टेलिभिजन च्यानलसहित अनलाइन सञ्चारमाध्यम समेतका अनुरोधबमोजिम सञ्चालन गरिएको सो सेवाका सामग्री रासस केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्न थालिएको छ । राससले श्रव्यदृश्य सञ्चालनका लागि ‘श्रव्यदृश्य सेवा सञ्चालन निर्देशिका–२०७९’ तयार गरेको छ । उक्त निर्देशिकाअनुसार मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि छायाङ्कन गरेर टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्ष्य गरी गुणस्तरीय श्रव्यदृश्य (भिजुअल) सामग्री उपलब्ध गराइने छ । राससको श्रव्यदृश्य सेवा सञ्चालनका बारेमा मूलधारका टेलिभिजन च्यानलका सम्पादक तथा समाचार प्रमुखबाट प्राप्त सुझाव ।
इमेज टेलिभिजनका प्रधानसम्पादक सङ्केत कोइराला
राससले सुरु गरेको यो सेवाले हामी टेलिभिजनामा काम गर्ने वा टेलिभिजन डेक्समा काम गर्नेलाई खुसी महसुस भएको छ । कन्टेन्टको हिसाबमा अहिलेको समाचार सोसल मिडियाको प्रभावका कारण छिटोभन्दा छिटो दिनुपर्ने बाध्यता छ । त्यस्तो अवस्थामा नेटवर्कको हिसाबले निजी समाचार संस्थाले एजेन्सीमार्फत समाचार दिइरहेको परिवेशमा रासस एउटा आधिकारिक संस्था भएको, देशको सञ्चारमाध्यम भएको र नेपाल सरकारको स्वामित्व भएको हिसाबले हामी सबै नेपालीको सम्पत्ति हो । त्यसले दिने सेवाले हामीलाई हरेक दृष्टिकोणले सहजै लाग्छ तर त्योसँगै जोडिएका चुनौती पनि धेरै नै छन् । मलाई लाग्छ ७७ वटै जिल्लाबाट श्रव्यदृश्य सेवा आउन सक्यो भने त्यो पनि गुणस्तरीय हिसाबबाट र जनताका समाचार, जनताका कथाव्याथा, नेताले भनेका कुराहरु तथा भाषण मात्रभन्दा पनि एउटा राम्रो खुर्सानी खेती गरेर किसानले समाजमा राम्रो सन्देश फैलाएको हुन्छ, त्यस्तो समाचार हाम्रा लागि सकारात्मक सन्देश दिने तथा उत्पेरक गर्ने खालका हुनुपर्छ र त्यस्ता समाचारतर्फ राससको ध्यान जानुपर्छ । सबैभन्दा ठूलो कुरा भनेको समाचार छिटो चाहियो । विश्वसनीय र गुणस्तरीय समाचार चाहियो । यसरी रासस अगाडि बढ्न सकेमा अहिले प्रस्तुत गरिएको सेवाले सार्थकता पाउने देख्छु ।
न्यूज २४ टेलिभिजनका सम्पादक अर्जुन खड्का
राससले भिडियो सेवा सञ्चालन गरेकामा सर्वप्रथम धन्यवाद दिन चाहान्छु । नेपाली पत्रकारितामा राससले विशिष्ट योगादन पु¥याएको इतिहास जिवन्त छ । भिडियो सेवामा पनि यस्ले आगामी दिनमा एउटा राम्रो वर्चस्व राख्नाका साथै राम्रो भूमिका निर्वाह गर्न सकोस्, रासस देशैभरी पत्रकारको नेटवर्क भएको राम्रो संस्था हो । यसले देशभरि भएको आफ्नो सञ्जाललाई उपयोग गरेर खासगरी मोफसलका घटनाक्रमलाई छिटोभन्दा छिटो आफ्ना ग्राहक वर्गमा उपलब्ध गराउन सकोस् । काठमाडौँमा उपलब्ध ‘कन्टेन्ट’का भिडियोहरुलाई गुणस्तरीयरुपमा प्रस्तुत गर्न सकोस् । अहिले विभिन्न सेवा प्रदायकसंस्थाले सेवा उपलब्ध गराइरहेका छन्, तीनीहरुकोे सेवा पनि आफैँमा विशिष्टीकृत छ । राससले उपलब्ध गराएको सेवा पछि अझै स्तरीय, गुणस्तरीय हुनेछ भन्ने विश्वास लिएको छु । राससको उपस्थितिले सरकारी निकायका गतिविधि मात्रै सङ्कलन र सम्प्रेण हुने भन्ने मानिसको बुझाइ छ । त्यसलाई भोलिका दिनमा चिरेर व्यावसायिकरुपले भिडियो सेवा अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई स्थापित गर्न सकियोस् । नेपाली पत्रकारिता राजनीतिले प्रभावित भएको छ तर राससले खासगरी विकाससँग जोडिएका, खोजमूलक, जनतालाई दिलाउने र उनीहरुकै विषयलाई बढी प्राथमिकता दिनुपर्छ ।
एबीसी मिडिया ग्रुपका महाप्रबन्धक पूर्णबहादुर जिसी
राससले भिडियो सेवा थप गरेकोमा खुसी लागेको छ । यसको उत्तरोत्तर प्रगतीको कामना गर्दछु । समाचार क्षेत्रमा राससले पु¥याउँदै आएको सेवा अतुलनीय छ । अहिले निजी क्षेत्रबाट पनि श्रव्यदृश्य सेवा त सुरु भएकै छ तर उनीहरु काठमाडौँमा मात्रै सीमित छन्, काठमाडौँ बाहिरका विषयवस्तु त्यति आउन सकेका छैनन् । यो परिपेक्षमा राससले जसरी देशैभरिबाट समाचार उपलब्ध गराएको छ, त्यसैगरी श्रव्यदृश्य सेवा पनि विभिन्न जिल्ला जिल्लाबाट उपलब्ध गराउनुपर्छ । नेपालको दूरदराजमा रहेका र नसमेटिएका समुदायको विषयवस्तुलाई राससले श्रव्यदृश्य सेवामार्फत उपलब्ध गराउनुपर्छ । विशेष गरी दूरदराजका कर्णाली र सुदूरपश्चिमका मानिसका कथा व्याथा मिडियामा आउन सकेका छैनन्, ती विषयलाई राससले दिनुपर्छ जस्तो लाग्छ । जस्तोः स्थानीय साहित्य, कला र संस्कृतिसँगै खोजमूलक समाचारलाई श्रव्यदृश्यमार्फत ल्याउनुपर्छ।