जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी निर्वाचनमा संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको सुुनिश्चिता गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् । सांसद अमृता थापाले प्रस्तुत गरेकाी उक्त प्रस्तावको सांसद लक्ष्मी परिवारसहित ११ सांसदले समर्थन गरेका छन् । सांसदहरु लक्ष्मीकुमारी चौधरी, चन्दा चौधरी, रङ्गमती शाही, बीना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरुङ सुवेदी, रेनुका गुरुङ र प्रमिला राई समर्थक रहेका छन् ।

सांसद थापाले नेपाली महिलाले मुलुकको हरेक परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिताको सहभागिता सुनिश्चित गराइनुपर्नेमा जोड दिएकी छन् । उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि अहिले छलफल भइरहेको छ ।

नेपालको संविधानले सम्बोधन गरेको समानुपातिक समावेशी सहभागिताको विषयलाई सुनिश्चितताका लागि सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैमा महिला र पुरुषको समान सङ्ख्यामा प्रतिनिधित्व गराउन हाल निर्वाचन आयोगबाट निर्वाचनसम्बन्धी कानुन संशोधनको एकीकृत मस्यौदा तयारीका लागि विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन भइरहेको छ ।

प्रतिनिधिसभामा समेत यस विषयमा छलफल गरी सङ्घीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत प्रत्येक दलले जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वबमोजिम महिला उम्मेदवारी दिनुपर्ने भनिएको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनका विभिन्न पदमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसङ्ख्यक वा सीमान्तकृत वा अरू कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्न अत्यावश्यक भएकाले जरुरी महत्वको प्रस्ताव प्रस्तुत गरिएको उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *