माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकको ३ करोड रुपैयाँ सम्मको कृषि कर्जाको सुरक्षण हुने भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोष र माच्छापुच्छ्रे बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र माच्छापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै बैंकले कृषि व्यवसायको लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । ३ करोड सम्मको त्यस्तो कर्जा मध्ये १ करोड भन्दा माथीको कर्जाको हकमा भने बैंकले कोषको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशतमध्ये ५० प्रतिशत सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत मात्र दुई किस्ता बैंकले कोषमा बुझाउनेछ ।
कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्ने जनाइएको छ ।