भ्रष्टाचार र अनियमितताको विरुद्धमा पार्टी क्रियाशील छ : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलापले नै मुलुक समस्यामा पर्दै गएको बताए । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेलामा उनले भ्रष्टाचार र अनियमितता मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा राप्रपालाई मत दिएर पहिलो दल बनाउन आग्रह गरेका छन् । मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले यसअघि पर्वतको मोदी गाउँपालिकामा राप्रपाको पालिकास्तरीय कार्यालयको उद्घाटनसमेत गरेका छन् ।