कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उहाँले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शर्मालाई र्‍यालीसहित उम्मेदवारी दर्ताका लागि ल्याइएको थियो ।

यसैगरी नकेपा (एमाले) झापा जिल्ला इन्चार्ज अग्नि खरेलले प्रतिनिधिसभा सदस्यमै उम्मेदवारी मनोनयन गराएका छन् । उनको प्रस्तावकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रर्साइँ र समर्थकका रूपमा पूर्व प्रदेश सदस्य श्रीप्रसाद मैनाली रहेका छन् ।

क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *