नःघलको त्वाः छेँ विवाद : अब सामुदायिक भवन बन्नुपर्ने स्थानीयवासीको माग
काठमाडौं । महानगरपालिका–२५, नःघल, बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई अब सामुदायिक भवनको रुपमा पुनःनिर्माण गरिनुपर्ने मागलाई स्थानीयवासीले अघि सारेका छन् । स्थानीय बासिन्दाका अनुसार २८ नं वडा कार्यालय र सामाजिक÷भाषिक संस्थाले केही समय अघिसम्म चर्चेर आएको उक्त भवनमाथिको स्वामित्वको दावा दुबै पक्षले गर्दै आएपनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिँदैन ।
कुनै बेला उक्त स्थानमा सार्वजनिक पाइखाना थियो । वरपरका नःघल, बाङ्गेमुढा, न्ह्योखा, त्यंग, न्हैकतला र खिलँ टोलका बासिन्दाहरुको संयुक्त पहलमा चन्दा संकलन गरेर उक्त भवन ठड्याइएको थियो । वि.सं २०३५ सालमा निर्माण सम्पन्न गरिएको दुई तले उक्त भवनमा स्थानीय जनताकै सुविधाका लागि भनेर सहमतिमा वडा कार्यालयलाई बस्न दिइएको थियो । पछि तीन तले पारिएको उक्त भवनमा केही दिन अघि काठमाडौँ महानगरपालिकाले डोजर चलाए पछि उक्त भवनको स्वामित्व विवाद फेरि सतहमा आएको हो । महानगरपालिकाको उक्त कदमपछि महानगरपालिकाको समर्थनमा भन्दा विरोधमा जनमत मुखरित भएको देखिएको छ ।
वि.सं २०३३ सालतिर छ वटा टोलका स्थानीय बासिन्दाहरु मिलेर भवन निर्माण गरिँदाका बखत योगदान गरेका स्थानीय बासिन्दा अहिले विवादरत दुबै पक्षको दाबी नपुग्ने तर त्यसको सही हकदार ६ वटा टोलका बासिन्दा सम्मिलित निर्माण समिति भएको प्रमाण त्यहाँ राखिएको शिलालेख भएको तर्क गर्छन् । त्यस शिलालेखमा चन्दादाता र पुनःनिर्माण समितिका पदाधिकारीहरुको नामावलीको फेहरिस्त रहेको छ । मुद्दाका बेला ओझेलमा पारिएको यही शिलालेखलाई आधार बनाएर यतिखेर उनीहरु त्यस भवनको स्वामित्व दावी गर्दै मुद्दा हाल्ने तयारीमा जुटेका छन् ।
जिल्ला अदालतले २०७३ कात्तिक २३ गते गरेको आफ्नो फैसलामा भनिएको छ – “उक्त भवन साविकदेखि काठमाडौँ महानगरपालिकाको वडा समिति सञ्चालनमा रहेको भन्ने कुरा स्थलगत सर्जमिन समेतबाट खुलेको छ । उक्त भवनमा कामनपाको वडा समितिको नाममा खानेपानी र विद्युत् जडान भएको समेत पाइन्छ । अगाडि विवेचना गरिएबमोजिम महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने अधिकार र कत्र्तव्य एकातिर रहेको छ भने अर्कोतर्फ सर्वसाधारण जनता र टोलवासीका योगदान र सहभागितामा निर्माण भई वडा समिति समेत सञ्चालन भएको सार्वजनिक प्रयोगमा रहेको भवन स्थानीयवासीकै हकहित तथा सुविधाको निमित्त प्रयोग एवं उपभोग हुने हो भन्ने कुरामा पनि दुई मत हुँदैन ।”
त्यस भवन थाय्मदु टोलको टोल घर भएको दाबीसहित थाय्मदु निवासी कृष्ण सुन्दर मल्ल सहितका व्यक्तिहरुले वडा कार्यालय विरुद्ध २०७१ मङ्सिर १५ गते मुद्दा हालेकोे थियो । उक्त भवनको बगलमा त्यंग टोलका ज्यापू समुदायको नासः द्यः (इष्ट देवता) रहेको छ । उक्त ठाउँको फोहर पन्छाउन र टोल घर निमाण गर्न त्यतिखेर तिनै ज्यापू समुदायले महिनौं दिनसम्म श्रमदान गरेको र उनीहरुलाई खाजा ख्वाउने प्रवन्ध निर्माण समितिले गरेको स्थानीयवासी गुह्यरत्न शाक्य स्मरण गर्नुहुन्छ ।
वडा नं २७ र २८ गाभिएर २५ नं वडा कायम हुनुअघिसम्म यसै भवनबाट २८ नं वडा कार्यालय सञ्चालन भइआएको थियो । २५ नं वडा कार्यालय मांसगल्लीमा सरिसकेको छ । २५ नं वडा कार्यालयले मेयर विद्यासुन्दर शाक्यको पालामा त्यस भवनलाई भत्काएर पार्किङसहितको ६ तल्ले भवन निर्माण गर्न चाहेको थियो । तर त्यस योजनामा सहमति जुट्न सकेन । त्यस भवनबाट बहालमा उठ्ने रकम कहाँ गयो भन्ने प्रश्न पनि कतिपयले उठाउने गरेका छन् ।
अहिले पनि स्वामित्व विवादको मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन रहेको बताइन्छ । यहाँका पाका व्यक्तिहरु तत्कालीन २८ नं वडाकै सम्पूर्ण टोलवासीको टोल घरको रुपमा परिचित यस त्वाः छेँ भवनको स्वामित्व दावी गर्दै २०७१ सालमा मुद्दा हाल्ने पक्षले शिलालेखमा रहेको निर्माण समिति र चन्दादाताको नामावलीलाई प्रमाणको रुपमा पेश नगरी थाय्मदु टोलकै मात्र टोल घर भनी दलील पेश गर्दा मुद्दा फिलतो भै माग बमोजिमको फैसला नआएको विचार व्यक्त गर्छन् ।
उनीहरु भन्छन् – “सार्वजनिक प्रयोजनका लागि त्यहाँ अब सामुदायिक भवन बनाइनु पर्छ । त्यहाँ वडा कार्यालय बस्न चाहे पनि ठाउँ उपलब्ध हुनेछ । टोलवासीकै हित हुने सामाजिक गतिविधिलाई पनि सँगसँगै निर्माण समिति स्वयंले सञ्चालन गर्न सक्छ । यसमा आपत्तिको कुरो भएन ।”