नेपाली कांग्रेसले गठन गर्यो सातै प्रदेशमा निर्वाचन परिचालन समिति
काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए ।बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए ।
‘नेपाली कांग्रेस अहिले गठबन्धनमा छ । गठबन्धनको परिस्थितिमा हामीले ९१ सिट मात्रै पाएका छौं । त्यसले गर्दा समानुपातिक भोट घटन सक्छ । त्यसलाई कसरी म्यानेज गर्ने यी सब कुराहरुमा छलफल गरियो । अव जति पनि सुझावहरु आएका छन । ती सबै सुझावहरुलाई समेटेर यस समितिको कामलाई व्यवस्थापन गर्छौं’, उनले भने । बैठकमा पार्टीको चुनावी घोषणापत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउन पनि लागि गर्ने धारणा समितिका सदस्यहरुबाट आएको नेता ढुंगानाले बताए ।
पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउनका लागि नेता गोपालमान श्रेष्ठको नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । सत्तारुढ गठबन्धनले यस अघिनै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ ।