नवौँ राष्ट्रिय खेलकुद : बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छन् । यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जित्दै उनले नौ अङ्क प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेकी निर्णायक दीपेश गिरीले जानकारी दिए । त्यस्तै महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनीले नौ खेलमा नौवटै खेल जितेर नौ अङ्कका साथ दोस्रो स्वर्ण जित्न सफल भएकी हुन् ।
त्यसैगरी आज सम्पन्न र्यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अङ्कका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएकी छन् ।