स्वर्णपदक विजेता खेलाडी भन्छन् : ‘ देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ ’
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
गण्डकी प्रदेशको गोरखाका उनि दश वर्षदेखि आर्मीमा आबद्ध छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेलेका छन् । उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी थिए, यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने चिन्तासँगै उनमा थियो ।
आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिएका छन् । नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरेका छन् । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ ।
उनले भने, “देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।” उनले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेका छैनन् । सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताए । “हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई÷तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुपर्यो ।” उनले भने ।
नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन । पुलिस टोलीको कप्तानी गरेका नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताए । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आएका उनि यसपटक विभागीय टोलीबाट खेखेका हुन् । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उनको अनुभव छ ।
उनले भने, “विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।” उनको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उनले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उनको विश्वास छ । उनले भने, “खेलाडीलाई क्रिकेटमा लागिरहने आधार बनाउनु चुनौतीपूर्ण छ । म्याच धेरै हुनुपर्दछ । पुरुषको इपिएललगायतका प्रतियोगिता हुँदा केटीहरुको पनि हुुनुपर्यो । राखेप, क्यानलगायत अन्य कर्पोरेट सेक्टरले पनि यसबारेमा पनि अब सोच्नुपर्दछ ।”
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य अप्सरी बेगम खेल प्रदर्शनका लागि प्रतियोगिताको कमी भएको बताए । राष्ट्रिय खेलकुदबाट उत्कृष्ट क्षमताका खेलाडी निस्किरहेकाले उनीहरुलाई राम्रो म्याच एक्पोचर दिनसके खेलको विकास राम्रो हुने उनको सुझाव थियो । उनले भने, “अहिले म्याचको कमी छ । हामीले धेरै प्रतियोगिता खेल्न पायौँ भने हाम्रो स्तर वृद्धि हुन्छ ।”
पुलिसको टोलीमा रहेर स्वर्ण जितेपछि उनि उत्साहित छन् । “पुलिस टिम बनेर महिला क्रिकेटमा पहिलो सहभागितामै स्वर्ण जित्दा खुसी भएका छौँ । यस टिमले पछि समेत राम्रो खेल्नेछ ।” उनको विश्वास छ ।