कांग्रेसमा विवाद सकिएकै हो त ? की विवाद सकिएको छ भन्न कसैले पनि नचाहेका हुन् ?
काठमाडौं । टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र भेला गरेको कांग्रेसको असन्तुष्ट समूहले निर्वाचन नजिकिँदै गर्दा विवाद मत्थर पारेको छ । चुनावी प्रचार सुरु भएसँगै तत्कालका लागि विवाद थाती राखेर टिकट पाएका इतर समूहका नेता निर्वाचन तयारीमा जुटेका छन् । समानुपातिक र प्रत्यक्षतर्फका दुवै टिकटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएको इतर समूहका नेताको बोली अचानक फेरिएको छ ।
उम्मेदवारी मनोनयन दर्ता हुनुअघिसम्म नेपाली कांग्रेसमा धेरै विवाद देखिएको थियो । संस्थापन र इतर समूहका नेताका कारण निर्वाचनमा कांग्रेसलाई ठूलो असर पर्ने हो कि भन्ने अनुमान गरिएको थियो । तर, चितवन ३, सर्लाही ४ र पर्सा १ बाहेक कांग्रेसका त्यस्ता ठूला बागी भएनन् । इतर समूहका नेता डा.शेखर कोइराला अहिले गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपरेका छन् । सुरुमा आफू पक्षका नेताहरूलाई उचित संख्यामा टिकट नदिएको कोइरालाको आरोप थियो । तर इतर समूहले प्रत्यक्षमा २९ र समानुपातिकमा ३२ वटा टिकट पाएको छ ।
कांग्रेस नेता डा. शेखर कोइरालाले गत सोमबार सभापति शेरबहादुर देउवा र आफूबीच कुनै मतभेद नरहेको प्रस्ट पारेपछि कांग्रेसमा विवाद मत्थर भएको देखिएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा उनले १४औँ महाधिवेशन र स्थानीय तह निर्वाचनको तुष नराख्न नेता–कार्यकर्तालाई आग्रहसमेत गरे । ‘महाधिवेशनमा शेरबहादुरजी र म प्रतिस्पर्धामा थियौँ । पार्टीको आन्तरिक प्रतिस्पर्धामा वडादेखि केन्द्रसम्म समूह बनाएर लडेका थियौँ,’ कोइरालाले भनेका थिए, ‘अब महाधिवेशन र स्थानीय तह निर्वाचनको तुषलाई त्यागौँ । मैले त त्यागिसकेँ । अहिले देउवाजी र म एकैठाउँमा उभिएका छौँ । म पटकपटक शेरबहादुरजीलाई गएर भेटिरहेको छु । उहाँले मेरो कुरा सुनिरहनुभएको छ, मानिरहनुभएको छ । तपाईंहरू किन लडिरहनुभएको छ ? लडेर के पाउनुहुन्छ ?’
सुरुमा कांग्रेसको इतर समूहका नेता गठबन्धनकै विपक्षमा थिए । तर, डा.कोइराला २३ असोजमा उम्मेदवारी दर्तापछि खुलेर गठबन्धनको पक्षमा बोलेका थिए । उनले गठबन्धन गर्दा भनेजति सिट नपाउनु स्वाभाविक भएको बताएका थिए । ‘हामीले गठबन्धन किन गर्नुपर्यो भन्ने महत्वपूर्ण हो । ट्रयाकबाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउनु थियो,’ कोइरालाले भनेका थिए, ‘गठबन्धन गर्दा कतिपय कुरा हामीले भनेजस्तो हुँदैन । टिकट वितरणमा पनि त्यो सम्भव नहुनु स्वाभाविक हो । त्यसलाई अन्यथा लिनुहुँदैन ।’ निर्वाचनका मुखमा आएको कोइरालाको अभिव्यक्तिमा आएको बदलावलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
कांग्रेस महामन्त्री गगन थापाले पनि विवाद थाती रहेको सन्देश उम्मेदवारी दर्ता गर्दाकै दिन दिएका थिए । २३ असोजमा उम्मेदवारी दर्तापछि महामन्त्री थापाले असन्तुष्टि कायमै रहेको र निर्वाचनलगत्तै समीक्षा हुने बताएका थिए । ‘पार्टीभित्र अहिले मौका पाउनुनपर्ने एउटै मात्र पनि कारण नभएका नेता फेरि यसपटक निर्वाचनको मैदानबाट बाहिर हुनुभएको छ । उहाँहरूले टिकट पाउनुभएको छैन,’ थापाले भनेका थिए, ‘यसको जवाफ नेतृत्वले दिनुपर्छ । यसलाई अहिले मुल्तबीमा राख्नेछौँ । निर्वाचनपछि छलफल गर्नेछौँ ।’ त्यसयता महामन्त्री थापा चुनावी प्रचार प्रसारमा तीव्र ढंगले लागेका छन् ।
डा. गोविन्दराज पोखरेल, मधु आचार्य, डा.मीनेन्द्र रिजाल, भूपेन्द्रजंंग शाही र अर्थविद् स्वर्णिम वाग्लेलगायतले टिकट नपाउँदा कांग्रेसमा असन्तुष्टि देखिएको थियो । तर, अहिले त्यसबारे कोही बोल्न चाहँदैनन् । यसले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भएर जाने संकेत देखिएको छ ।
अब निर्वाचन आउन एक महिना मात्र बाँकी छ । अबको एक महिना नेपालमा चुनावी माहोल उत्कर्षमा पुग्नेछ । अहिले सबै दल चुनावी प्रचार प्रसारमा होमिएका छन् । खासगरी कात्तिक १७ गतेदेखि देशमा चुनावी प्रचारप्रसार तीव्र हुने अनुमान गरिएको छ । किनभने त्यसबेला तिहार र छठ पर्व सकिनेछ । दलहरूले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसक्नेछन् ।