काठमाडौँ–१ मा सिंहको १८४६ मिश्रको १२८१
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको प्रारम्भिक अग्रता कायमै छ ।
यो क्षेत्रका छ वटा मतदान केन्द्रको मतगणना सकिँदा सिंहले १८४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का रविन्द्र मिश्रले १२८१ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले ५२८, नेकपा (एमाले) का किरण पौडेलले १०६२ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले ३५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ ।
जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार हुनुहुन्छ । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्र रहेकामा अब ४६ केन्द्रको मतगणना बाँकी छ ।