भीम रावल र बालेन साहबीच सामाजिक सञ्जालमा जुहारी

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सामाजिक सञ्जालबाट जुहारीमा उत्रिएका छन् । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीचको भेटवार्तालाई लिएर नेता रावल र मेयर साहबीच सामाजिक सञ्जालमा जुहारी चलेको हो ।

बिहीबार ट्वीटरमामार्फत रावलले राजदूत भेट्नका लागि परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? भनेर प्रश्न गरेपछि मेयर साहले जवाफ फर्काएका थिए। उनले रावललाई जवाफ दिँदै ‘तपाईंहरूलाई जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’ भन्दै जवाफ फर्काएपछि रावलले जवाफी फायर खोलेका छन् ।

रावलले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको भए स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो ? भन्दै फेरि अर्को प्रश्न तेर्साएका छन् । रावलले स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्न पनि चुनौती दिएका छन् ।

‘नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि ? म फेरि पनि बालेनजीलाई प्रश्न गर्छु, के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नुभएको हो ? तपाईले भन्नु भएझैं ‘उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछि भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयो ? परराष्ट्र मन्त्रालयको पत्रबाट ? फोनबाट वा इमेलबाट ? पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस्,’ उनले भनेका छन् ।

रावलले आवेस, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसँग मेल नखाने भन्दै महानगरले पेस गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने बताएका छन् ।

रावलले भनेका छन्,‘तपाईंले असान्दर्भिक नै भए पनि जवाफमा ‘विदेशी सहयोग माग्ने कुनै रहर छैन’ भन्नुभएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईंले पेस गर्ने वार्षिक पेस गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ । बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’

मेयर साहले राजदूतले पटक–पटक भेट्न खोज्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउन भनेको र परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र भेटेको स्पष्ट पारेका थिए ।

परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था रहेको भन्दै रावलले संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गर्न पनि आग्रह गरेका छन् ।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस्,’ रावलले लेखेका छन्, ‘संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *