अब को बन्लान् प्रधानमन्त्री ? कुन दलको सरकार !
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेसँगै सरकार सञ्चालनको नेतृत्वबारे चर्चा सुरु भएको छ । सरकार गठनको प्रक्रिया सुरु भएसँगै भाबी प्रधानमन्त्री को बन्ने भन्ने विषयले चर्चा पाउन थालेको हो।
सरकार सञ्चालनका लागि राजनीतिक नेतृत्वहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । सरकार बनाउन स्पष्ट बहुमत कुनै पनि दलहरूसँग छैन। यद्यपि ठूला राजनीतिक दलकै नेताले सत्ताको नेतृत्व सम्हाल्नेछन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेका छन् । उनले आफू अब अन्तिम पटक सरकारको नेतृत्व गर्ने भन्दै दाबी प्रस्तुत गरेका हुन् ।
देउवासँगै रामचन्द्र पौडेल, गगन थापा, शेखर कोइरालाको नाम चर्चामा छन् । संसदीय दलको नेता चयनमा थापाले आफू भिड्ने बताइसकेका छन् भने पौडेलले आफूलाई सरकारको नेतृत्वमा सघाउन पार्टी सभापति देउवासँग आग्रह गरेका छन्। संस्थापनइतरका कोइराला पनि प्रधानमन्त्रीका आकांक्षी हुन् ।
कांग्रेस महामन्त्रीसमेत रहेका थापालाई संसदीय दलको नेता चयन हुन भने निकै सकस देखिएको छ । संस्थापनइतरबाट पौडेल र कोइराला आकांक्षी देखिएकाले संसदीय दलको नेता चयन हुन थापालाई हम्मे हम्मे पर्ने देखिन्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफू प्रधानमन्त्री हुने दाबी प्रस्तुत गरिसकेका छन्। त्यसका लागि प्रचण्डले विभिन्न राजनीतिक दलहरूसँग भेटघाटलाई तिव्रता दिएका छन्। प्रचण्डले अब जनताको चाहनाअनुसार काम गर्ने समेत बताइसकेका छन् ।
एमालेबाट अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत प्रधानमन्त्रीका दावेदार हुन् । एमालेले त चुनावी एजेण्डामै केपी ओलीलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। दाबी प्रस्तुत गरेकामध्ये देउवा, प्रचण्ड र ओली पटक-पटक प्रधानमन्त्रीमा दोहोरिएका छन् ।
मंसिर ४ गतेको निर्वाचनमा ८९ सांसदसहित कांग्रेस पहिलो दल बनेको छ भने एमाले ७८ सांसदसहित दोस्रो दल बनेको छ। त्यस्तै माओवादी केन्द्र ३२, समाजवादी १०, रास्वपा २०, राप्रपा १४, जसपा १२, जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा र जनमोर्चा १-१ र स्वतन्त्रबाट ५ जना सांसद चुनिएका छन्।
राजदूत श्रीवास्तवले खासगरी काठमाडौंमा को प्रधानमन्त्री हुन्छ भन्ने चासो राख्ने गरेको स्रोतहरूले उल्लेख गरेका छन् । १५ दिनअघि प्रधानमन्त्री देउवासँगको भेटमा राजदूत श्रीवास्तवले सत्ता गठबन्धनको भविष्यमाथि चासो राखेका थिए । एक साताअघिको अर्को भेटमा पनि सत्ता समीकरणमाथि नै चासो थियो । स्रोतको भनाइमा श्रीवास्तवको त्यही चासो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि थियो । खासमा दिल्लीले काठमाडौंमा अबको सरकार कस्तो चाहन्छ ? त्यसको सपाट जवाफ त आफूअनुकूल सरकार चाहन्छ भन्ने हो । तर, दिल्लीले रुचाएको पात्र को हो भन्नेचाहिँ प्रस्ट छैन ।