फेरि घटेर आयो इन्धनको मूल्य
काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य फेरि घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीले जानकारी दिए ।
आइओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ९० पैसा, डिजेलमा १२ रूपैयाँ ३१ पैसा र हवाई इन्धनमा १० रूपैयाँ ६१ पैसा घटेर आएको थानीले जानकारी दिए । यसअघि मूल्य घटेर आउँदा पनि घाटा पूर्ति नभएको भन्दै निगमले मूल्य घटाएको छैन। निगमलाई मूल्य घटाउन चर्को दबाब भए पनि निगमले आलटाल गर्दै आएको छ । यसपटक पनि के गर्ने भन्ने निगमले निर्णय गरिसकेको छैन ।
बोर्डका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव तोयम राया देश बाहिर रहेकाले इन्धनको मूल्य घटाउनेबारे छलफल नभएको कार्यकारी निर्देशन थानीले बताए । अध्यक्ष तोयम स्वदेश फर्किएलगत्तै बोर्ड बैठक बसेर मूल्य समायोजनबारे छलफल गरिने निगमले जनाएको छ ।
इन्धनको मूल्य नघटाउँदा निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रूपैयाँ र डिजेलमा करिब १३ रूपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रूपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनुपर्ने ऋण रकम ७ अर्ब रूपैयाँ रहेको जनाएको छ ।