कांग्रेस सभापति देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।कार्कीले छिट्टै गठबन्धनको बैठक बस्ने र सरकार गठनलगायतका विषयमा छलफल हुने बताए । कांग्रेसले गठबन्धनको नेतृत्व गरेको र गठबन्धनलाई जनताले अनुमोदन गरेकाले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनले बताए । त्यस्तै, कांग्रेस नेता शशांक कोइरालाले अहिले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । आफू संसदीय दलका नेताको दाबेदार नभएको र आफूले पार्टी सभापति देउवालाई पूर्णरुपमा समर्थन गर्ने उनले बताए । प्रधानमन्त्रीका विषयमा गठबन्धनभित्र अन्य दलले दाबी गर्नु स्वभाविक भएको उनको भनाइ छ । निधिले प्रधानमन्त्री दलको कारणले गठबन्धन तोडिने कुनै सम्भावना नरहेको धारणा राखे । प्रतिनिधिसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित ५७ र समानुपातिकबाट निर्वाचित ३२ सांसदहरू छन् ।