लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने
काठमाडौं । पोखराको फेवाताल किनारमा आजदेखि सुरु हुने ‘१०औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिबल अन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५ औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ । योञ्जनका गीतहरुको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ । स्व.योञ्जनले पोखरामै लामो समयसम्म लोकसंगीतको अनुसन्धान र लेखनमा बिताएका थिए । लिटरेचर फेस्टिबलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुती दिनेछन् । यी लगायत सबै सांगीतिक कार्यक्रमहरुको प्रायोजन ‘खुकुरी रम’ले गरेको हो । ‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ । कम्पनीकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरुको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरुलाई गौरव महसुस भएको बताइन् । उनले लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौं । यहीकारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभलजस्ता कार्यक्रम हाम्रो रोजाईमा पर्ने गर्छन ।
लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरुको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरुसँग जोड्न पाउँदा आफूहरुलाई पनि खुशी लागेको बताए । यसपटकको फेस्टिभलको नारा ‘शब्दशक्ति उत्सवको एक दशक’ रहेको छ । पुस ११ गतेसम्म चल्ने शब्दहरुको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन् ।