देउवाले अब के गर्नुपर्छ ?

काठमाडौँ । आइतबारको राजनीतिक घटनाक्रम धेरैले अनुमान गरेभन्दा फरक रुपमा विकसित भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् ।

आइतबार बिहानसम्म कांग्रेससहितको गठबन्धनमा रहेका प्रचण्डले आफु प्रधानमन्त्री बन्न नसक्ने निष्कर्ष निकालेपछि उनले एमालेसँग हात मिलाएका थिए । प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको यो पुनर्मिलन यस अघि २०७४ को जस्तै थियो । त्यति बेला पनि माओवादी देउवाकै नेतृत्वमा सरकारमा थियो र अहिले पनि देउवाकै नेतृत्वमा सरकारमा साथ थियो ।

त्यति बेला पनि ओली र प्रचण्ड मिल्छन भन्ने देउवाले कुनै छनक पाएका थिएनन् भने यस पटक पनि एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्दैनन् भन्ने उनको बुझाइ थियो । तर घटनाक्रम उनको बुझाइभन्दा फरक ढंगले अगाडी बढ्यो र प्रचण्ड अब एमालेको सहयोगमा आफ्नो तेस्रो कार्यकालको प्रधानमन्त्री बनिसकेका छन् । भने सबै भन्दा ठुलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । आइतबार भएको सत्ताको खेलमा देउवाले नराम्रो हार बेहोरेका छन्, सम्भवत: यो उनको अहिलेसम्मको ठुलो हार ।

अब परिस्थिति बदलिएको छ । प्रचण्डले एमालेसहितको सात दल र तीन स्वतन्त्र सांसदहरुको सहयोगमा सरकार बनाएका छन् । भने कांग्रेसले धेरैथोक गुमाएको छ । कांग्रेसले प्रधानमन्त्री त गुमायो, सँगै राष्ट्र्पति, सभामुखसहित सातै प्रदेशका सरकार समेत गुमाउने भएको छ ।

कांग्रेस सभापति देउवाले अन्तिम समयसम्म पनि गलत अडान लिदा कांग्रेस ठुलो दल बनेपनि हात खाली भएको छ । देउवाले आफु निकट सिमित नेताहरुको कुरा सुनेर अडान परिवर्तन नगरेको र परिस्थितिको सहि विश्लेषण गर्न नसकेको स्पष्ट देखिएको छ । अब यसको असर कांग्रेसमा देखिने निश्चित रहेको छ । कांग्रेसका नेताहरुले देउवाले सभापति र संसदीय दलबाट राजीनामा दिनुपर्ने आवाज उठाउन शुरु गरिसकेका छन् ।

संसद र सडकमा प्रतिपक्षको रुपमा अब कांग्रेसलाई सशक्त नेतृत्व आवश्यक पर्ने देखिएको छ । देउवाले गठबन्धन जोगाउन नसकेसँगै अब पार्टी भित्र उनको नेतृत्व र पुरानो साख जोगाउन मुश्किल हुने देखिएको छ । देउवा उमेरका हिसाबले पनि अब निराश बनेको कांग्रेसलाई जीवन्तता दिन सक्दैनन् भन्ने कुरा स्पष्ट छ । यस अघि उनको नेतृत्वमा सरकार बन्ने विषय एक किसिमको बाध्यात्मक अवस्था थियो । तर अब बदलिएको अवस्थामा उनले पार्टीको नेतृत्व अन्य नेताहरुलाई दिएर आफुले आराम गर्नु उनी र कांग्रेस दुवैको हितमा हुने देखिन्छ ।

संसदीय दलको निर्वाचनपछि अब कांग्रेसको युवा नेताहरुको समुह देउवाविरुद्ध लाग्ने प्रष्ट भएको छ । सोमबार मात्र पोखरामा रहेका दुवै महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले यसको इशारा गरिसकेका छन् । उनीहरु दुवैले सभापतिले गठबन्धन बचाउन नसकेको मात्र होइन कांग्रेसको साख पनि डुबाएको निष्कर्षसहित अबको रणनिति अगाडी बढाउने संकेत गरेका छन् ।

त्यस्तै देउवा पक्षकै उपसभापति पूर्णबहादुर खड्का पनि प्रचण्डलाई प्रहिला प्रधानमन्त्री बनाउन गरेको अन्तिम समयसम्मको प्रयास असफल भएकोले पनि देउवाको नेतृत्वमा अब उनकै समुहबाट पनि प्रश्न उठ्ने निश्चित देखिएको छ ।

अब अहिलेको अवस्थामा देउवाको प्रधानमन्त्री बन्ने सम्भावना योसँगै सकिएकोले उनले पार्टी र संसदीय दलको नेतृत्व अन्य नेताहरुलाई हस्तान्तरण गरेर अहिलेदेखि नै कांग्रेसलाई चुस्त बनाउन अब ढिला गर्नु हुदैन । कांग्रेसका लागि सबै भन्दा सहि समय नेतृत्व हस्तान्तरणको यहि हो । देउवाले सभापति र संसदीय दलको नेताको पद छोडेमा सबथोक गुमाएर निराश बनेका आम नेता कार्यकर्तामा नयाँ सञ्चार हुने र कांग्रेस आफ्नो लयमा फर्किन सक्छ । राजनीतिमा हुने घटनाक्रम अस्थायो हुने हुनाले तत्कालका लागि सबथोक गुमाएपनि कांग्रेसका लागि कोर्स करेक्सनको यो सहि अवसर समेत हुनसक्ने देखिन्छ ।

देउवा राजनीतिक व्यक्ति हुन् । उनले राजनीतिक निर्णय अवश्य लिन्छन् नै तर अहिलेको अवस्थामा उनले लिने अबको बाटोले कांग्रेसको कोर्स करेक्सन हुने अहिलेको बाटोलाई दिशा निर्देश गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *