राप्रपाबाट लिङ्देन र राणा मन्त्री बन्ने, थप एकका लागि मारामार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जाने तयारीमा लागेको छ । पार्टी बैठकबाट निर्णय गराएर राप्रपा सरकारमा जान लागेको हो । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय गरिसकेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाका अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणाको नाम टुंगो लागिसकेको छ । राप्रपाले तीन मन्त्री मागेको छ । अर्को को मन्त्री भन्ने विषयमा मारामार चलेको छ । राप्रपामा मन्त्रीका आकांक्षी सांसद बनेका १४ जना नै छन् ।

सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड तत्काल राप्रपालाई तीन मन्त्री दिन तयार छैनन् । तर लिङ्देनले केन्द्रमा तीन मन्त्री र बागमती प्रदेशमा मुख्यमन्त्रीको बटमलाइन बनाएको छ ।

बागमतीमा राप्रपा भएन भने एमाले वा माओवादीले सरकार बनाउन सक्दैनन् । कांग्रेसको ३७ सिट छ । एमालेको २९ र माओवादीको २१ सांसद छन् । त्यसैले राप्रपा निर्णायक बनेको हो । राप्रपालाई मुख्यमन्त्री दिएर कांग्रेसले सरकार बनाउने सम्भावना पनि नभएको होइन । त्यसका लागि एकीकृत समाजवादीले साथ दिए पनि पुग्छ । तर, केन्द्रको समीकरण बाधक बनेको छ । राप्रपाले मुख्यमन्त्रीकै लागि एमालेसँगको समीकरण तोड्ला भन्ने धेरैले विश्वास गरेका छैनन् ।

हुन त एमालेसँग सहकार्य गरेको राप्रपाले गत स्थानीय तहको निर्वाचनमा कांग्रेससँग मिलेर झापाको दमकमा मेयर जितेको थियो । राम थापालाई मेयरमा जिताउन लिङ्देनले कांग्रेस–माओवादीसँग तालमेल गर्ने निर्णय गरेका थिए । त्यसैले अहिले पहिलो मुख्यमन्त्री बन्ने लोभमा उसले कांग्रेससँग सहकार्य गर्न सक्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् ।

कांग्रेस अहिले जसरी पनि एमाले माओवादी समीकरण भत्काउन चाहिरहेको छ । यस्तो अवस्थामा राप्रपालाई अलग्याउन सकिए बागमतीमा आफू अनुकूलको सरकार बनाउन सकिने कांग्रेसको बुझाई छ । तर त्यसका लागि राप्रपा अध्यक्ष लिङ्देन नै निर्णायक छन् । उनी एमाले अध्यक्ष केपी ओलीको इ्रसारामा चल्ने भएकाले पनि कांग्रेस–राप्रपा समीकरण बन्ने सम्भावना कमजोर नै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *