लक्ष्मी र सनराइज बैंकको मर्जर सम्झौता सोमबार हुँदै
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकबीच समान हैसियतमा सोमबार मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम मर्जरका लागि विभिन्न चरणमा छलफल गरेका थिए । धेरै पटक दुई बैंकका मर्जर समितिबीच छलफल भएपछि १ः१ अनुपातमा मर्ज हुने सहमति भएको हो । तर, सम्पति तथा दायित्वको मूल्यांकन डीडीए रिपोर्टमा ५ प्रतिशतभन्दा बढिको फरक पर्न गएमा सोही अनुसार स्वाप रेसियो निर्धारण हुने एक सञ्चालकले बताए । ‘धेरै विषयमा कुराकानी हुन बाँकी छ, एमओयू भएपछि संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो सम्झौता नै पछि हुनेछ । मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ ।
लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालका अनुसार स्वाप रेसियोमा राष्ट्र बैंकले दिएको लचतकतालाई कायम गरेर मर्ज हुनेछ । उनले ५ प्रतिशतसम्म तलमाथी भयो भने समान हैसियत हुने र ५ प्रतिशत भन्दा बढी भयो भने जसको जति आउँछ त्यहि हिसावमा मर्ज हुने बताए ।मर्जर पश्चात् बैंकको सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सीईओको बन्ने भनेर सहमति हुन बाँकी नै रहेको छ । र सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भए भने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।