ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार आजदेखि
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार आजदेखि हुने भएको छ । यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार हुन लागेका हुन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । नेपाल राष्ट्र बैंकले पुस १४ गते ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । मर्जर पश्चात् ‘ग्लोबल आईएमई बैंक’को नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा ग्लोबल आइएमई बैंकका सीईओ रत्नराज बज्राचार्य बन्ने छन् । साथै, मर्जर पश्चात् बैंक अफ काठमाण्डूका सीईओ श्रवण लाल मास्के वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बन्नेछन् । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको थियो । सोही सहमति अनुसार मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुङ्गो लागेको छ । मर्जरपश्चात् सञ्चालक समितिको अध्यक्षमा चन्द्र ढकाल बन्ने छन् । ग्लोबल आइएमई बैंकबाट सञ्चालकहरुमा कृष्णप्रसाद शर्मा, देवेन्द्र प्रताप शाह, क्याविनेट श्रेठ र राम बहादुर भण्डारी सञ्चालक बन्नेछन् । यस्तै बैंक अफ काठमाण्डूबाट राधेश पन्त र मदनलाल जोशीलाई सञ्चालक बनाउने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । मर्जरपश्चात् कूल सम्पत्ति ५ खर्ब ५ अर्ब र कूल पूँजी ५७ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने बैंकले जनाएको छ । मर्जर पश्चात् बैंकको ४० लाखभन्दा बढी ग्राहक संख्या पुग्नेछन् । शाखा सञ्जाल देश विदेश गरी कूल १ हजार १ वटा भन्दा बढी हुनेछन् । मर्जर पश्चात् बैंकको कर्मचारी संख्या ३ हजार ७ सय ९३ जना पुग्नेछन् ।