क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ ः राष्ट्रपति भण्डारी


कठमाण्डौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४, उग्रचण्डीनालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका १० अवतारसहित परम्पिता चतुरानन् ब्रह्माजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रह्मपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्ने बताइन् । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ । यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो उनले भनिन् । आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुन सक्ने उनको धारणा थियो । राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रूपमा लिन सकिने बताइन् । हामीले प्रकृतिलाई अझ सिँगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ । राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवर्द्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्न सकिने बताइन् ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उनले प्रकृति र संस्कृतिको अतुलनीय संगम बनेको नेपाललाई अनेकन् तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताइन् । प्राचीन सभ्यता र सनातन भूमिका रूपमा परिचित यस धर्तीमा भगवान् बुद्धको जन्मस्थान लुम्बिनी देश–विदेशमा निकै चर्चित बनेको छ । त्यसैले समृद्ध इतिहास र परम्पराको जीवन्त पक्षलाई संरक्षण गरी समयानुकूल भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ ।
कार्यक्रममा सांसद गोकुलप्रसाद बाँस्कोटाले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने समुदायलाई राज्यले ‘होस्टेमा हैँसे’ गर्नुपर्ने बताए । उनले भने, समृद्धि, प्रकृति र इतिहासलाई समेट्दै गरिने पर्यटकीय विकास चानचुने विषय हैन । राष्ट्रिय पदमार्गअन्तर्गत टनचोक–धुलिखेल–तेमाल–महाभारत बुद्धसर्किट पनि योजनामै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *