सर्वदलीय बैठक सार्ने ओलीको प्रस्ताव
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक सार्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री दाहालले मंगलबारका लागि सर्वदलीय बैठक राखेका छन् । अघिल्लो दिन भएको भेटमा ओलीले प्रचण्डसँग सर्वदलीय बैठक सार्ने प्रस्ताव गरेको स्रोतको बतायो ।
प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।
प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक राखेपछि झस्किएका ओलीले उक्त बैठक राख्दा कांग्रेसलाई भाग खोज्ने अवसर मात्रै हुने तर्क गरेका छन् । प्रचण्डले आफूलाई विश्वासको मत दिनेहरूलाई धन्यवाद भन्नका लागि समेत सबै दलीय बैठक राख्न आवश्यक रहेको बताएका छन् । तर, बैठक सार्ने वा नसार्ने भन्ने विषयमा प्रचण्डले केही भनेका छैनन् ।
एमालेका नेताहरू सभामुख र राष्ट्रपतिको विषयमा विगतको सहमति अनुसार जाँदा सर्वदलीय बैठक आवश्यक नरहेको तर्क गर्छन् । राख्नै परे पनि सभामुखको निर्वाचनपछि राख्नु उचित हुने उनीहरूको सुझाव छ । तर, प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचन अगावै सर्वदलीय बैठक राखेका हुन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले राष्ट्रपति पाँचै वर्ष लिने र प्रधानमन्त्री र सभामुखमा माओवादी र एमालेले आलोपालो नेतृत्व गर्ने सहमति भएको नेताहरू बताउँछन् । तर, प्रचण्डले लिखित सहमति केही नभएको बताएपछि एमाले नेताहरू झस्किएका हुन् ।
संसद् सचिवालयले मंगलबार सभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्दैछ । बिहीबार सभामुखको निर्वाचन हुँदैछ ।