कर तिर्न पनि घुस दिनुपर्ने अवस्था छ ः शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा कर तिर्नसमेत घुस दिनु पर्ने अवस्था रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना, लघु उद्योग सम्मेलनमा गोल्छाले कर प्रशासनमा सुधार भयो भने नेपालमा अहिले संकलन भइरहेको भन्दा कयौं बढी राजस्व संकलन हुने सम्भावना रहेको बताए । ‘संसारमा कतै पनि कर तिर्न घुस दिनु पर्ने अवस्था छैन, गोल्छाले भने, हामीले अहिलेको यो अवस्था परिवर्तन गर्नै पर्छ । महासंघलाई ठूलो उद्योगीको मात्रै कुरा गरेको आरोप लाग्ने गरेको भन्दै गोल्छाले साना उद्योगको विकास नहुँदासम्म नेपालको अर्थतन्त्र विकास हुन सक्दैन भन्नेमा आफू प्रष्ट भएको बताए ।
अहिले साना उद्योगी समस्यामा परेकाले गत वर्षभन्दा १५ प्रतिशत कम राजस्व संकलन भएको छ, गोल्छाले भने,अहिले साना र ठूलो उद्योगको क्षमता ६० प्रतिशतले घटेको छ । जसले गर्दा समग्र अर्थतन्त्र सुस्त भएको हो । उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन सके नेपालमा साना साना तथा लघु उद्योग विकास हुन सक्ने गोल्छाको भनाइ छ । ‘साना उद्यमीले सहज कर्जा पाउन सकेका छैनन्, बजारसँगको पहुँच अर्को समस्या हो, गोल्छाले भने, देशभित्रका साना र ठूला उद्योग जोड्न सकिएको छैन । हामीले अहिलेको यो अवस्था सुधार गर्न सक्यो भने साना र लघु उद्योगमा ठूलो सम्भावना छ ।