अब फेरी प्रचण्डले रविलाई मन्त्री नियुक्त गर्लान् त ?

काठमाडौं । आफ्नै दम्भले शक्तिशाली चारवटा पद गुमाएका रवि लामिछाने आइतबार नागरिकता पुनः प्राप्तिका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय जाने भएका छन् । नागरिकता लिने तयारीका लागि उनी जिल्ला प्रशासन कार्यालय जान लागेका हुन् । बिहान १० बजे सरकारी कार्यालय खुलेलगत्तै उनले नागरिकता लिनेबारे परामर्श गर्ने भएका छन् ।

तर, रविलाई अब वंशज कि अंगीकृत कुन नागरिकता दिने भन्ने समस्या पनि आइपरेको छ । यसअघि उनले वंशजका आधारमा नेपाली नागरिकता पाएका थिए । तर, अमेरिकी नागरिकता लिएपछि उनको नेपाली नागरिकता स्वतः रद्द भएको छ । अमेरिकी नागरिकता लिएपछि उनी त्यहाँका नागरिक भए । विदेशी नागरिकलाई नागरिकता दिँदा वंशजका आधारमा पाइँदैन । रवि लामिछाने नेपाली बाबुआमाबाटै जन्मे पनि अमेरिकी नागरिक भइसकेकाले उनलाई पुनः वंशजकै आधारमा नागरिकता दिन नमिल्ने कतिपय कानुन व्यवसायीको तर्क छ ।

यतिबेला रविसँग अमेरिकी र नेपाली दुवै पासपोर्ट छ । उनले एकसाथ अमेरिकी र नेपाली पासपोर्ट बोकेको अध्यागमन कार्यालयले पुष्टि गरिसकेको छ । एकै समय दुई देशको पासपोर्ट बोक्नु फौजदारी कसुर हुन्छ । रवि लामिछानेमाथि राहदानी कसुरमा अनुसन्धान रोकिएको छ । लामिछाने गृहमन्त्री भएका बेला प्रहरीलाई अनुसन्धान र छानबिन अघि नबढाउन दबाब दिइएको थियो । तर, उनको सांसद पद खारेज भएकाले प्रहरीलाई राहदानी कसुरमा अनुसन्धान अघि बढाउन बाटो खुला भएको छ । यसबीचमै रविलाई नागरिकता लिन लगाई मन्त्री नियुक्त गर्ने गरी एमाले अध्यक्ष केपी ओलीले गृहकार्य अघि बढाएका छन् ।

दुई देशको पासपोर्ट बोकेर हिँड्ने रविलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ महिने मन्त्री नियुक्त गर्लान् त रु भन्ने प्रश्न उब्जेको छ । ओली कुनै पनि हालतमा गृह मन्त्रालय प्रचण्डको हातमा पुगोस् भन्ने चाहँदैनन् । त्यसैले उनी जसरी भए पनि रविलाई पुनः गृहमन्त्री बनाउन चाहन्छन् ।

यसको दुईवटा कारण छ । एक, रविलाई साथमा बोक्दा प्रचण्डलाई साइजमा ल्याउने । अर्को, रविलाई साथ दिएको देखाएर अर्को निर्वाचनमा सहानुभूतिको मत बटुल्ने । त्यही भएर ओलीले रविलाई पुनः मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिन थालेको स्रोतले बतायो । यदि रविविरुद्ध दोहोरो पासपोर्ट बोकेको अभियोगमा अदालतमा मुद्दा परेमा उनीमाथि फौजदारी कसुरमा सजाय हुने निश्चित रहेको कानुन व्यवसायी युवराज सफलले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *