फोन‍ पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने


काठमाण्डौं । फोन पे एपमार्फत बिना इन्टरनेट भुक्तानी गर्न सकिने भएको छ। काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको विशेष कार्यक्रमका बीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। प्रमुख अतिथिका रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाले फोन पेको अफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरिन्। यो नवीनतम सोचका लागि सम्बद्ध सबैलाई धन्यवाद र शुभकामना दिन चाहन्छु, क्युआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा फोन पेको अफलाइन फिचर कोशेढुंगा सावित हुने विश्वास छ।
फोन पेको यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्छ। तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्ने विश्वास कम्पनीको छ। राष्ट्र बैंकको लेस क्यास इकोनोमीु बनाउने अभियानलाई साकार पार्न पनि मदत गर्ने कम्पनीले बताएको छ। फोन पेको अफलाइन भुक्तानीलाई अझै अगाडि बढाएर सबैसामु पुर्‍याउन लागि हाम्रा ग्राहक बैंक तथा वित्तीय संस्थाहरूले पनि अमूल्य भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं, फोन पेका सिइओ दिवश सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने। फोन पेले सार्वजनिक गरेको फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यवसायहरूका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ। फोन पेले विगत ३ वर्षदेखि डिजिटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ। फोन पेमा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ता जोडिएका कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *