चितवन २ मा उपनिर्वाचन गर्नुपर्दैन ः उमेश श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् । सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उनले माग गरेका छन् । ४ मंसिरको चुनावमा श्रेष्ठले चिवतन–२ बाट १४ हजार ९८३ मत पाएका थिए । पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको उनको दावी छ । कानुनको नजरमा उनी निर्वाचित सांसद होइनन् , ‘उपनिर्वाचन हुन विधिवत निर्वाचित भएको हुनुपर्दछ । वैधानिक उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने म हुँ । यो तथ्यलाई निर्वाचन आयोगले अस्वीकार गर्न मिल्दैन ।श्रेष्ठले आफूलाई स्वतः निर्वाचित गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् । आयोगले आफ्नो पक्षमा निर्णय नलिए सर्वोच्च अदालतमा जाने उनले बताए । कानुन व्यवसायीहरुको राय अनुसार अघि बढेको श्रेष्ठको भनाइ छ । संविधानले व्यवस्था गरेको प्रावधान भन्दा पृथक अवस्था रहेकाले नयाँ नजिर स्थापना हुनुपर्ने श्रेष्ठको जिकिर छ । ‘कात्तिक २६ र २७ मा रविको नागरिकताविरुद्ध उजुरी परेको थियो’, श्रेष्ठले भने, ‘निर्वाचन आयोगले समयमा छानबिन नगर्दा यो अवस्था बनेको हो । पुनः निर्वाचन गरेर राज्यको बजेट खर्च गर्न नहुने भन्दै श्रेष्ठले कानुनले चिन्दै नचिनेको व्यक्तिले चुनाव जितेको मान्न नसकिने उनले बताए ।