सुदूरपश्चिममा रावललाई विश्वासको मत नदिने भएपछि कांग्रेसले बढायो सक्रियता

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएपछि नेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् । मुख्यमन्त्री रावलले बिहीबार साँझसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्ने भएपछि कांग्रेसले सक्रियता बढाएको हो ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको माग सम्बोधन नगरेसम्म सरकारलाई विश्वासको मत नदिने अढान लिएको हो । नागरिक उन्मुक्तिले टीकापुर घटनाका दोषी रेशम चौधरीलगायत ६ नेताको रिहाइ मुख्य शर्त बनाएको छ । तर, यसबारे सरकारले चासो नदिँदा विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस सुदूर पश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका थिए । बुधबारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै उनले आपत्ति समेत जनाएका थिए ।

उनकाअनुसार सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रुपमा कांग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।

कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । कांग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी बुधबारको छलफलमा सहभागी थिए ।

नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठूलो पार्टीको हैसियतमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *