राष्ट्रपतिमा देउवादेखि कल्याण श्रेष्ठसम्मको चर्चा

काठमाडौ । फागुन २५ गतेका लागि तोकिएको राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने हुन्छ । अब जम्मा दुई हप्ता बाँकी रहँदा पनि दलहरूले उम्मेदवारबारे पार्टीमा छलफल चलाएका छैनन् । तर, राष्ट्रपतिका आकांक्षी भने सतहमा देखा परेका छन् । अहिलेसम्म दलीय र बाहिरका व्यक्तिको नाम राष्ट्रपतिका लागि चर्चामा आइरहेको छ । जसमा दमननाथ ढुंगाना, कल्याण श्रेष्ठको नाम अघि सारिएको छ ।

नेपाली कांग्रेसले अहिलेसम्म को राष्ट्रपति बन्ने भन्ने कुनै निर्णय गरेको छैन । जबसम्म माओवादी केन्द्रले खुलेर साथ दिँदैन, त्यतिबेलासम्म कांग्रेसले राष्ट्रपतिमा कसलाई उठाउने भनेर निर्णय नगर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकेत गरेपछि मात्र उम्मेदवारबारे छलफल चलाउने तयारीमा कांग्रेस छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने बैठकमा राष्ट्रपतिबारे घनीभूत छलफल हुने बताएका छन् । कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठको नाम चर्चामा छ ।

एमालेले राष्ट्रपति आफूले नै पाउनुपर्ने दाबी गरिरहेको छ । एमालेबाहेकका नाममा सहमति नजुट्ने एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा बोलिसकेका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय नेम्वाङ, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, नेतृ गोमा देवकोटा, नेताहरू गुरु बराल र डोरमणि पौडेलको चर्चा छ ।

माओवादी केन्द्रमा उपराष्ट्रपति नन्दबहादुर पुन र उपाध्यक्षद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाको नाम चर्चामा छ । राष्ट्रिय सहमतिका लागि भन्दै माओवादीले राष्ट्रपतिमा फ्लोर ओपन गर्ने सम्भावना धेरै छ ।

एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेसपाबाट डा. बाबुराम भट्टराई, लोसपाबाट अध्यक्ष महन्थ ठाकुरलगायतको नाम राष्ट्रपतिका लागि चर्चामा छ । लोसपाले ठाकुरको नाममा राष्ट्रिय सहमति बन्न सक्ने दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *