नेकपा एसले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने
धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेवार समाजवादीले पनि उठाउन सक्ने बताएका छन् ।
आज (मंगलबार) प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका हुन् ।
उनले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नदेखिको पनि बताए । राष्ट्रपतिको निर्वाचनको विषयमा सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ ।
‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनु पर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’