राजनीतिक सहमतिबाट नै राष्ट्रपति : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक सहमतिबाट नै राष्ट्रपति छान्नुपर्ने बताए ।
समाजवादी प्रेस सङ्गठन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, “लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा गर्ने राष्ट्रपतिको खोजी भइरहेको छ ।” नेकपा एमालेलाई राष्ट्रपति दिने पक्षमा समाजवादी पार्टी नरहेको र सबैले स्वीकार गर्न सक्ने व्यक्ति राष्ट्रपति बनाइनुपर्ने उनको भनाइ थियो । सहमति नभएसम्म आफ्नो पार्टीले राष्ट्रपतिको उम्मेदवार नदिने अध्यक्ष नेपालले बताए ।
सबैलाई मान्य हुने राष्ट्रपति चुन्न सकिन्छ कि भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागेका छन हेरौँ त्यो प्रयास सफल हुन्छ कि हुँदैन । “देशमा राजनीतिक तरलता देखिएको छ, राजनीतिक अवस्था कता जाने हो हेर्दै जाऔँ ”, अध्यक्ष नेपालले भने ।
आफ्नो पार्टी वर्तमान सरकारमा सहभागी नहुने कुरा उनले स्पष्ट पारेका छन् । कम्युनिष्टबीच एकता गरी बलियो मोर्चा बनाउन आफ्नो विप्लव नेतृत्वको नेकपा लागयतका विभिन्न नेता तथा पार्टीसँग कुराकानी भइरहेको पनि अध्यक्ष नेपालले जानकारी दिएका छन् ।