युनिग्लोब कलेजमा ‘सातौँ योङ साइन्टिस्ट समिट २०२३’ हुने
काठमाण्डौं । युनिग्लोब स्कुल कलेज र नेपाल पोलिमर इन्स्टिच्युट एनपीआईको संयुक्त आयोजनामा आइतबार र सोमबार ‘सातौँ योङ साइन्टिस्ट समिट २०२३’ हुने भएको छ । कमलादीस्थित युनिग्लोब कलेजमा हुने सातौँ योङ साइन्टिस्ट समिट २०२३ को कार्यतालिका सार्वजनिक भइसकेको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि कार्यक्रमको उद्घाटन समारोह सुरु हुनेछ । विशेष अतिथिहरूमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषद्का सुरेन्द्र बस्नेत, नास्टका डा.महेश अधिकारी, प्राध्यापक बिनिल अर्याललगायत सहभागी हुनेछन् । युवाहरूलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो । यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमति अनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुन लागेको हो । ‘सातौँ योङ साइन्टिस्ट समिट २०२३’ मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट २०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा विभिन्न ५ वटा विधामा वैज्ञानिकहरूले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियरिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ ।