नबिल बैंकले हरेक महिना कार्यालयमा महिला उद्यमीको स्टल राख्ने
काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ एफविनबिच महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि उक्त साझेदारी भएको हो । साझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका तर्फबाट अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका थिए । समझदारी अन्तर्गत नबिल बैंकले आफ्नो बैंकको शाखा कार्यालयहरूमा महिला उद्यमीका उत्पादनको लागि स्टल उपलब्ध गराउने भएको छ । एफविन अन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता एनएसएसई कार्यक्रम सम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने साझेदारीमा उल्लेख छ । समझदारीअनुसार पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रिय कार्यालयमा स्टलहरु लगाउने छ । यो स्टलहरुमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू रहनेछन् । यस प्रकारको नेपाली उत्पादनहरूले नबिलका कर्मचारी र यसका ग्राहकहरूको नेपाली उत्पादनहरूप्रति सकारात्मक व्यवहार परिवर्तन गर्न मद्दत गर्ने अपेक्षा राखिएको बैंकले जनाएको छ । वित्तीय पहुँच, उद्यमशीलता र वित्तीय साक्षरता तालिमले महिला सशक्तीकरणलाई बढावा दिने बैंक बताउँछ ।