राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धनको विकल्प छैन ः मातृका यादव
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा पार्टीले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास गर्ने बताएका छन्। सत्ता साझेदार नेकपा एमाले पनि राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा उभिनुपर्ने तर्क उनको छ। राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएका खण्डमा विकल्प सोच्नुपर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ। ‘एमाले अध्यक्ष केपी ओलीजीले सुरूदेखि नै दम्भ देखाउनुभयो। सम्राट बन्न खोज्नुभयो। प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि स्पेश दिनुभयो। एउटा मधेशीको छोराको नागरिकताको विषय हुन्थ्यो भने जेल गइसक्थ्यो तर रवि उल्टै धम्क्याएर हिँडिरहेका छन्। यो सबै वातावरण बनाउने काम केपी ओलीबाटै भयो। उनले अझै पनि माओवादी राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताए। ‘एमालेले नै राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य व्यक्तित्व दियो भने त्यो हुन सक्छ। तर उहाँ ओलीले हामीले नै भनेको व्यक्ति हुनुपर्छ भन्ने हो भने हामी नेपाली कांग्रेससँग गठबन्धनको विकल्प छैन। किनभने हामीसँग जम्मा संघीय संसदमा ३२ जना मात्रै सांसद छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुँदैन भने कांग्रेससँग गठबन्धनको विकल्प नहुने उनले बताए। प्रधानमन्त्री प्रचण्डले अहिले पनि कांग्रेससँग कुराकानी गरिरहनुभएको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सक्दैन भने हामी कांग्रेससँग गठबन्धन गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं , अझै हामी राष्ट्रिय सहमतिकै पक्षमा छौं। एक, दुई दिनमा बैठक गरी निर्णयमा पुग्छौं। संसद विघटनलगायत कुरा अब नगर्ने भन्ने कुराकानी भए पनि ओलीले प्रतिनिधिसभा बैठकमै संसद विघटनका कुरा गरेको यादव बताउँछन्। ‘संसद विघटनबारे केही कुरा नबोल्ने कुराकानी भएको थियो तर उहाँले बोल्नुभयो,’ उनले भने, सुरूदेखि नै ओलीजीले गठबन्धनविरोधी काम गर्नुभयो।