कांग्रेसलाई रोक्न एमालेको ‘ट्रमकार्ड’ माधव नेपाल, प्रचण्डले आत्मघाती खेल खेल्लान् ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको राष्ट्रपति बनाउन नसक्ने भनेर सन्देश दिएपछि अहिले केपी ओलीले ‘ट्रमकार्ड’ माधव नेपाल फ्याँकेका छन् । ओलीकै आग्रहमा बुधबार राति भैरहवामा सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णु पौडेललगायतले माधव नेपालसँग छलफल गरेका थिए । सोही भेटवार्तामा एमालेले नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको हो । तर, माधवलाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादीलाई एमालेमा मर्ज गर्नुपर्ने सर्त ओलीको छ ।
कांग्रेसले औपचारिक रूपमा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिमा सघाउन प्रस्ताव गरेपछि त्यसलाई विषयान्तर गर्न एमालेको एउटा पक्षले माधव नेपाललाई अघि सारेको हो । पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, अमिक शेरचन र बाबुराम भट्टराईमध्ये कसैलाई राष्ट्रपति बनाउन सकिन्छ कि भन्ने सोचमा छन् । एमालेको समर्थन उनीहरुमध्ये कसैलाई राष्ट्रपति बनाउन सकियो भने हुने थियो भन्ने गरेका छन् । तर एमालेका कसैलाई पनि बनाउन नसकिने अडान राखेपछि अहिले ओली प्रचण्डलाई नभेट्ने मनस्थितिमा पुगेका छन् ।
माओवादीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्ने भनिरहेका बेला एक्कासि एमालेबाट माधव नेपालको नाम आएपछि प्रचण्ड आफैं झस्केका छन् । प्रचण्डले नेपाली कांग्रेसको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तोक्ने बताइरहेका बेला एकीकृत समाजवादीलाई मर्ज गरेर एमालेले माधवलाई अघि सार्ने संकेत देखिएपछि अब माओवादी केन्द्रले राष्ट्रपतिको विषयमा फागुन १३ गते विहानमात्रै आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
कुन दल र नेताको नाममा सहमति हुन्छ भन्ने प्रष्ट नभएपछि माओवादीले जानाजान ढिलाइ गर्न लागेको हो । पुरानो सहमतिअनुसार एमालेलाई राष्ट्रपति दिन माओवादीले साथ दिनुपर्ने भए पनि पछिल्ला दिनमा बिग्रिंदै गएको सम्बन्धका कारण एमाले र माओवादीको दूरी बढ्दै गएकाले राष्ट्रपतिबारे विभिन्न दल र अनावश्यक पात्रको विषयमा समेत छलफल हुन थालेको छ ।
यदि माधव नेपाललाई राष्ट्रपति बनाउँदा प्रचण्ड होइन, केपी ओली बलियो भन्ने निश्चित छ । अहिलेसम्म प्रचण्ड माधव नेपालकै कारण ओलीसँग निहुँ खोजिरहेका थिए । यदि माधव एमालेमा जानेवित्तिकै प्रचण्डलाई कांग्रेसले विश्वास नगर्ने निश्चित छ । किनभने कांग्रेलसे राष्ट्रपतिमा आफूलाई प्रचण्डले साथ देलान् भन्ने विश्वास राखेको छ । कांग्रेसले राष्ट्रपति पाएमा मात्र माधवको एमाले प्रवेश रोकिने छ । एकीकृत समाजवादी एमालेमा विलय भएमा एमाले सबैभन्दा ठूलो दल बन्ने छ । एमालेसँग अहिले ७९ सांसद छन् । एकीकृत समाजवादीका १० जोड्दा ८९ हुन्छ । कांग्रेसको पनि ८९ सांसद छन् । तर टेकबहादुर गुरुङ निलम्बनमा परेकाले ८८ सांसद मात्र बहाल छन् ।
माधव नेपालको पार्टी एमालेमा मर्ज भएपछि माओवादी पनि कर्नरमा पर्नेछ । किनभने प्रचण्डले ओली र कांग्रेस दुवैको विश्वास गुमाउने छन् । माधव नेपाल कतिसम्म पदलोलुप छन् भन्ने प्रचण्डलाई थाहा नभएको होइन । काठमाडौं २ र रौतहट १ बाट हार्दासमेत माधव नेपाल संविधानसभा सदस्यमा मनोनीत भएर पछि प्रचण्डलाई नै प्रधानमन्त्रीबाट हटाएका थिए । अहिले २०६४ साल दोहोरिनेतिर देशको राजनीति गएको छ ।